अस्पताल चोक भद्रपुरमा कलात्मक यात्रु प्रतीक्षालयको उद्घाटन
भद्रपुर । झापाको भद्रपुरस्थित अस्पताल चोकमा कलात्मक रुपमा बनाइएको बस बिसौनी ( यात्रु प्रतीक्षालय)को उद्घाटन गरिएको छ । मेची राजमार्ग अन्तरगत चारआली केचना सडक खण्डको भद्रपुर ८ स्थित मेची प्रादेशिक अस्पताल प्रवेश गर्ने चोकमा निर्मित प्रतीक्षालयको बुधबार बिहान एक कार्यक्रमका बीच भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् ।
करिब ९ लाख लगानीमा निर्माण गरिएको कलात्मक यात्रु प्रतीक्षालयको भद्रपुर ८ नम्बर वडा कार्यालयको समन्वयमा नगरपालिकाले निर्माण गरिदिएको हो । अस्पताल आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर विसं २०४१ सालमा तत्कालीन भद्रपुर जेसीजका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा त्यहाँ यात्रु प्रतीक्षालय निर्माण गरिएको थियो । सो प्रतीक्षालय जीर्ण रहिरहेकै अवस्थामा मेची राजमार्गको स्तरोन्नति भएपछि भत्काइएको थियो । सोही ठाउँमा स्थानीय कलाकार सञ्जय प्रधानको नेतृत्वमा कलात्मक प्रतीक्षालय निर्माण गरिएको हो ।
भद्रपुर ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा मनोजको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, ७ नम्बर वडाध्यक्ष अभिषेक ढुङ्गाना, १० नम्बर वडाध्यक्ष टेकबहादुर खडका काजी, प्रतीक्षालय निर्माणका पूर्व संयोजक गोविन्दचन्द छेत्री लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए ।