२०८३ बैशाख ७ गते , सोमबार

विजयादशमीमा सन्थाल नृत्य : बिर्ताबजारको मेलामा ठाउँ नभएपछि बाटोमै नाचे

sajilo news
झापा
२०८१ आश्विन २६ गते , शनिबार
विजयादशमीमा सन्थाल नृत्य : बिर्ताबजारको मेलामा ठाउँ नभएपछि बाटोमै नाचे

बिर्ता बजारको दशै मेलामा ठाउँ नभएपछि सन्थालहरूले बाटोमै नृत्य देखाएका छन् । बिर्तामोड– भद्रपुर रोड र बिर्ता बजार जोड्ने पुरानो भद्रपुर रोडमा उनीहरूले मुस्किलले आ–आफ्ना समूहको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । मेलामा नाच देखाउन आठ वटा टोली भेला भएकोमा उनीहरूलाई बाटोमा नृत्य देखाउन समस्या भइरहेको थियो । कुनै समूहले नृत्य देखाइरहेका थिए भने कुनै समूहले ठाउँको अभावमा नृत्य देखाउन सकिरहेका थिएनन् । सन्थालहरूले पुरै सडक ढाकेर नृत्य देखाइरहँदा करिब एक घण्टा सडक अवरुद्ध भई ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।

बिर्ता बजारको ऐतिहासिक एवं धार्मिक महत्वको दुर्गा मन्दिरमा परापूर्वकालदेखि दशैको टीकाको दिन मेला लाग्दै आएको छ । अहिलेको शिवालयदेखि पश्चिमपट्टि स्वर्गीय सतानुसिंह राजवंशीले दान दिएको करिब एक विगाह जग्गा खाली रहेको थियो । जहाँ सन्थालहरूले सामूहिक नृत्य देखाउने गर्थे । त्यस जग्गामा अहिले महेन्द्ररत्न मावि र अनार मनि पब्लिक क्याम्पसको भवन बनाइएको छ ।

सोही दुर्गा मन्दिरको लागि डोमालाल राजवंशीले करिब १२ विगाह जग्गा दान दिएका थिए । त्यो जग्गा देवी गुठीमा रहेका व्यक्तिहरूले मासिसके । यसरी ऐतिहासिक मठमन्दिर र मन्दिरका जग्गा मासेर आदिवासीहरूले दान दिएको जग्गा जमिनसँगै उनीहरूको संस्कार,संस्कृति र पहिचान नष्ट गर्ने गलत प्रवृत्ति बढ्दै गएको बिर्तामोड–३ सैनिक मोडका सूर्य राजवंशी गुनासो गर्छन् । बिर्ता बजारको मात्र होइन ,गरामनिको दुर्गा मन्दिरको जग्गा पनि मासिएको छ । ठाउँकै अभावमा गरामनि मेला घट्दै गएको छ ।

सम्बन्धित समाचार