आज छठ पूजा : सीमावर्ती मेची नदी सिँगारियो, सन्ध्याकालीन गंगा आरती हुने (तस्बिरसहित)
झापा । नेपाल–भारत सीमावर्ती नाका मेची नदीसहित झापा जिल्लाका विभिन्न नदी तथा खोला किनार छठ पर्वको तयारी पूरा भएको छ । आज बेलुका अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने मधेसवासीको मुख्य चाड छठ पर्व हर्षोल्लासका साथ मनाउन सीमावर्ती मेचीसहित बिरीङ, मावा, कमल, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ लगायतका नदी किनारहरू नयाँ बेहुलीझैँ सिँगारिएको छ ।
झापाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने भद्रपुर ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरसम्म अन्दाजी ५ हजार घाट निर्माण गरिएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । मसानघाट पूर्व नदी किनारमा भारतीय नागरिकले पूजा स्थल बनाएका छन् ।

पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फुल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावटको काम पूरा भइसकेको अध्यक्ष झाको भनाई छ ।दुवै देशका व्रतालु परिवारले मेची नदीलाई सङ्गम स्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्दै आइरहेकोले भद्रपुरमा मनाइने छठको छुट्टै रौनक छ ।
उता देवीबस्ती क्षेत्रमा घाट व्यवस्थापन कार्य पूरा भइसकेको युनिक समूहका अध्यक्ष प्रकाश राजवंशीले बताए । समूहले दुई हजार फुट घाट निर्माण गरेको छ । समूहले सो बापत व्रतालु परिवारसँग ५ फुट घाटको ५ सयदेखि ८ सय रुपैयाँसम्म लिने र गरिब तथा विपन्न परिवारका लागि आवश्यकता अनुसार घाट निःशुल्क उपलब्ध गराइएको अध्यक्ष राजवंशीको भनाई छ । छठ पर्वलाई मध्यनजर गरी भद्रपुर–५ देवीवस्तीस्थित मेची नदी किनारमा गंगा आरती गर्न लागेको भद्रपुर ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए । भद्रपुर नगरपालिका, वडा कार्यालय र युनिक समूहको आयोजनामा छठ पर्वमा पहिलो पटक भजन सन्ध्यासहित आरती गर्न लागेको वडाध्यक्ष कार्कीले बताए । साथै सूर्यनारायण मन्दिर नजिकै निर्माणाधीन कलात्मक प्रतीक्षालयको पनि आजै उद्घाटन गरिने उनको भनाई छ ।

मेचीमा मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले सामूहिक रुपमा छठ पर्व मनाउँदै आइरहेका छन् । यहाँ भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार बढी भक्तजन आउने अनुमान छ । मेची नदीको शान्ति सुरक्षालाई मध्यनजर गरी दुई सय जनाको हाराहारीमा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिने छ ।
छठमा हुन सक्ने आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, सादा पोसाक, रिजब टोलीसहित एक सय बढी परिचालन गरिने वडा कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालले जानकारी दिए ।
उनका अनुसार पूजाको सामग्री बोक्ने तीन पाङग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिने सुरक्षा योजना बनाइएको बताए । दुई पाङग्रे, चार पाङग्रे र ६ पाङग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइनेछ ।
मेचीमा ५० बढी सशस्त्र प्रहरी परिचालन गरिने सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी रमेश भुवाजीले जानकारी दिए । सीमावर्ती नाका भएकोले भारतीय एसएसबीसँग पनि समन्वयका लागि छलफल भइसकेको उनले बताए ।







.jpeg)





.jpeg)

