२०८३ बैशाख १४ गते , सोमबार

म्यानमार सैनिक सरकारद्वारा एकै पटक ६ हजार कैदीलाई आममाफी

sajilo news
एजेन्सी
२०८१ पौष २१ गते , आईतबार
म्यानमार सैनिक सरकारद्वारा एकै पटक ६ हजार कैदीलाई आममाफी

म्यान्मा । म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक आममाफीअन्तर्गत करिब ६ हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ। म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले हजारौं प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरिसकेको छ।

म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो। स्वतन्त्रता दिवसको अवसरमा शनिबार १ सय ८० विदेशीसहित ५ हजार ८ सयभन्दा बढी कैदीलाई रिहा गरिने जुन्टा सरकारले जनाएको छ।

आममाफीमा सामेल भएकामध्ये करिब ६ सय जनालाई दण्ड संहिताको धारा ५०५ (ए) अन्तर्गत सजाय सुनाइएको जुन्टाका प्रवक्ता जाउ मीन तुनले सञ्चारमाध्यमलाई दिएको अडियो वक्तव्यमा उल्लेख छ।

कानुनले सेनालाई कमजोर पार्ने कुनै पनि कार्यलाई निषेध गरेको छ र बढीमा तीन वर्षको जेल सजायको व्यवस्था गरेको छ। माफी दिइएका विदेशीमध्ये अधिकांश थाइल्यान्डका नागरिक रहेको र उनीहरूलाई सीमामा रहेको क्यासिनोमा पक्राउ गरिएको उनले बताए। 

सेनाले मानवीय र अनुकम्पाको आधारमा माफीको आदेश दिएको जनाएको छ। जुन्टाले आजीवन कारावासको सजाय सुनाइएका १ सय ४४ जनाको सजाय घटाएर १५ वर्षमा झार्ने पनि घोषणा गरेको छ।

म्यान्माले कैदीहरूलाई बिदा वा बौद्ध चाडहरूको उपलक्ष्यमा आममाफी दिने गरेको छ। गत वर्ष जुन्टा सरकारले स्वतन्त्रता दिवसको अवसर पारेर ९ हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो। राजधानी न्यापितमा शनिबार आयोजित वार्षिक स्वतन्त्रता दिवस समारोहमा करिब ५ सय सरकारी तथा सैन्य उपस्थिति थियो। कार्यक्रममा उपस्थित नभएका जुन्ता प्रमुख मीन आङ ह्लाइङले दिएको सम्बोधनलाई उपसेना प्रमुख सोइ विनले सम्बोधन गरेका थिए।

सम्बन्धित समाचार