२०८३ बैशाख १४ गते , सोमबार

भारी हिमपातले बेलायत र जर्मनीमा हवाइ र सडक मार्ग ठप्प

sajilo news
रासस
२०८१ पौष २१ गते , आईतबार
भारी हिमपातले बेलायत र जर्मनीमा हवाइ र सडक मार्ग ठप्प

लन्डन । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो। विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलबाट उडान हुन सकेका छैनन्। बेलायतमा आइतबार त्यहाँ तीन सय मिटर (९८५ फिट) माथिको भूभागमा ४० सेन्टिमिटर (१५ इन्च) सम्म हिउँ जम्ने भएकाले विशेषगरी इङ्ल्यान्डको उत्तरी भेगका धेरै ग्रामीण समुदाय मूल शहरबाट अलग्गिन सक्ने चिन्ता छ।

देशभर विद्युत आपूर्ति बन्द भएपछि पुनःस्थापना गर्ने काम भइरहेको बताएको छ। इङल्यान्डको बर्मिङ्घम, पश्चिममा ब्रिस्टल र वेल्सको कार्डिफमा विद्युत् कटौती भएको छ। धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भइसकेका छन्।

लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्ग बन्द गर्नुपरेको थियो। यद्यपि लिड्स ब्राडफोर्ड विमानस्थलले आइतबार बिहान आफ्नो धावनमार्ग बन्द गरेको बताएको छ। क्रिसमस र नयाँ वर्षको बिदाबाट धेरै परिवार घर फर्किने र विद्यार्थी विश्वविद्यालयतर्फ फर्कने दिन भएकाले अत्यन्त व्यस्त हुने यो दिनमा सडक सञ्जाल पनि व्यापक रूपमा प्रभावित भएको थियो।

स्थानीय अधिकारीहरूले धेरै सडक पहिले नै बन्द गरेका थिए। अन्यत्र फसेका सवारीसाधन र दुर्घटनाले अवरोध सिर्जना गरेका छन्। रेलमार्गमा धेरै सेवा रद्द गरिए र राष्ट्रिय रेलले एक हप्तासम्म बन्द रहने चेतावनी दिएको छ। वातावरण एजेन्सीले दक्षिणी इङल्यान्डमा टाव नदी र एभन नदीमा बाढीको चेतावनी पनि जारी गरेको छ।

यसैगरी हिउँ र बरफले जर्मनीमा पनि विनाश निम्त्याइरहेको छ। त्यहाँ जहाँ दक्षिणपश्चिमबाट जाडो मौसम फैलिएको छ। अधिकारीहरूले मानिसहरूलाई सम्भव भएसम्म घरमै बस्न सल्लाह दिएका छन्। फ्रेङ्कफर्ट विमानस्थलले आइतबार योजना गरिएका एक हजार ९० उडान र अवतरणमध्ये १२० रद्द गरेको छ।

म्युनिख विमानस्थलमा एउटा धावनमार्ग खुला थियो भने अर्को सफा गरिँदै थियो। बाडेन–वुर्टेमबर्गमा हेमिङ्गेन शहर नजिकै एउटा बस चिप्लेर सडकबाट बाहिर जाँदा आठजना घाइते भए। फ्रेङ्कफर्ट क्षेत्रमा लामो दूरीका रेल सम्पर्कमा पनि अनियमितता देखियो।

सम्बन्धित समाचार