बिर्तामोड महोत्सवको तयारी अन्तिम चरणमा, दुई लाख अवलोकनकर्ता भित्र्याउने
बिर्तामोड । ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पुगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । महोत्सव आगामी माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ ।
बिर्तामोड महोत्सवको करिब दुई लाखले अवलोकन गर्नेछन् । महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष न्यौपानेको भनाई छ । महोत्सवमा छिमेकी राष्ट्रहरूबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुग्ने न्यौपानेले बताए ।
त्यसको त ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा नेपालकै सबैभन्दा ठुलो ह्याङ्गरको प्रयोग गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका- ५ धर्मकाटा रोडमा आयोजना गरिएको महोत्सवमा तयार गरिएको ह्याङ्गर २० हजार स्क्वार फुटको रहेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए। ह्याङ्गार ३० मिटर चौडाइ र ६० मिटर लम्बाइको रहेको व्यवस्थापक सिम्खडाको भनाई छ । ह्याङ्गार भित्र ११८ वटा स्टल रहन सक्ने र यो ह्याङ्गर नेपालकै ठुलो ह्याङ्गर भएको उनको दाबी छ ।
महोत्सवमा १५० वटा स्टल रहने छन् । जहाँ सार्क राष्ट्रका व्यवसायीले स्टल राख्ने छन् । स्थानीय क्षेत्रमा रहेका सबै खाले उद्योगहरूलाई समेट्दै व्यवसाय क्षेत्रको प्रवर्द्धनका लागि आयोजना गरिएको महोत्सवमा गाडीदेखि गार्मेन्टसम्मका स्टल रहने सिम्खडाको भनाई छ ।
महोत्सवमा एकै खाले सामाग्री धेरै भन्दा पनि धेरै खाले सामग्री एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य रहेको र उपभोक्ताले सबै सामग्री एकै ठाउँमा प्राप्त गर्न सक्ने उनको भनाई छ । सबै खाले मापदण्ड पूरा गरेर आयोजना गरिएको महोत्सवमा सेल्फी जोनदेखि मूलद्वार आकर्षक कलाकृतिमा बन्ने उनको भनाई छ ।
महोत्सवमा व्यवसाय प्रर्वद्धनसंगै सबै खाले उमेर समूहका मानिसले मनोरञ्जन गर्न सक्ने व्यवस्थापन मिलाइएको उनको भनाई छ । जसका लागि हरेक दिन ट्रेण्डिङ्गमा परेका कलाकारको प्रस्तुति रहने छ भने स्थानीय स्तरका मौलिक पहिचान झल्कने विभिन्न कार्यक्रमको आयोजना गरिने उनको भनाई छ । यो महोत्सवमा सबै जना जानैपर्छ भन्ने गरिएको बनाइने सिम्खडाको दाबी छ ।