२०८३ बैशाख ४ गते , शुक्रबार

झापाको गौरीगञ्जस्थित छोटी भन्सार कार्यालय आठमौजा सञ्चालनमा आउँदै

sajilo news
झापा
२०८१ माघ ७ गते , सोमबार
झापाको गौरीगञ्जस्थित छोटी भन्सार कार्यालय आठमौजा सञ्चालनमा आउँदै

वर्षौँदेखि बन्द रहेको झापाको गौरीगञ्जस्थित छोटी भन्सार कार्यालय आठमौजा सञ्चालन हुने भएको छ । कोरोना कालदेखि बन्द रहेको त्यस छोटी भन्सार कार्यालयलाई यसै साता सञ्चालनमा ल्याउने तयारी थालिएको हो । मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले हिजो छोटी भन्सार कार्यालयको अवस्था बुझेर यसै सातादेखि सञ्चालन गर्ने बताए । उनले केही पूर्वाधारको काम गर्नुपर्ने भएकाले त्यसलाई पूरा गरी सञ्चालनमा ल्याउने जानकारी दिए । आफू झापाको बासिन्दा भएकाले आफ्नो कार्यकालमै छोटी भन्सार आठमौजालाई सञ्चालन गरेरै छाड्ने उनले बताए ।

यही माघ १३ गते भन्सार दिवस रहेको छ । भन्सार दिवसको अवसर पारेर त्यस छोटी भन्सार कार्यालयलाई सञ्चालन गर्ने योजना रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताए । मेची भन्सार कार्यालयअन्तर्गत ७ वटा छोटी भन्सार रहेका छन् । कतिपय छोटी भन्सारको नामोनिशान नै छैन ।

भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको झापा जिल्लामा काँकडभिट्टा र भद्रपुर गरी दुई वटा मुख्य नाका छन् । दुवै नाकामा मूल भन्सार रहेका छन् । जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालयहरू रहेका थिए । तर, काँकडभिट्टा र भद्रपुर नाकाबाहेक अन्य भन्सारहरू लामो समयदेखि कोरोना महामारीका कारण बन्द छन् ।

बिहारको फत्तेपुर नाकासँग जोडिएको छोटी भन्सार आठमौजा सञ्चालन हुँदा माई पश्चिमका बासिन्दालाई सहज हुने भएको छ । छोटी भन्सार बन्द भएपछि सीमाबाट अवैध आयात निर्यात हुने क्रम बढ्दै गएको छ ।

सम्बन्धित समाचार