२०८३ बैशाख ४ गते , शुक्रबार

आजदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव, मुख्यमन्त्रीले उद्घाटन गर्ने

sajilo news
झापा
२०८१ माघ ८ गते , मंगलबार
आजदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव, मुख्यमन्त्रीले उद्घाटन गर्ने

झापा । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् । आज मङ्गलवारबाट शुरु हुने व्यापार महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

बिर्तामोड नगरपालिका- ५ धर्मकाटा रोडस्थित महोत्सव स्थलमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले महोत्सवमा १५० वटा स्टलहरू रहेको बताए । यहाँका व्यवसायीहरूले देश विदेशका विभिन्न भागमा उत्पादित सामग्रीहरूको भण्डारण, वितरण र निर्यातको काम गरिरहेको भन्दै अध्यक्ष न्यौपानेले भने – अलैँची, अदुवा, कुचो, चिया, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवर्धन गर्ने हाम्रो अपेक्षा छ ।

महोत्सवले यहाँका व्यवसायी मार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी बस्तु उत्पादन गरेर रोजगार सृजना गराउन थप बल प्रदान गर्ने विश्वास लिएको उनको भनाई छ । महोत्सवमा मित्रराष्ट्र भारत,भुटान, बङ्गलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टलहरू समेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै  विद्यालय पोसाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले बताए ।माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने व्यवस्थापक ललित सिम्खडाले बताए । यसैगरी विभिन्न जात जातिका कला संस्कृतिहरूलाई समेत समेटिने बताइएको छ ।

महोत्सव अवधिभर दुई लाख भन्दा बढी अवलोकनकर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको प्रबन्ध गरिएको जानकारी दिइयो ।स्थानीय प्रशासनसंगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासङ समेत सहयोग लिएको र  महोत्सवलाई थप उल्लासमय बनाउन बालबालिकाहरूलाई लक्षित गरी मनोरञ्जनपूर्ण खेलहरू समेत महोत्सव परिसरमा व्यवस्थापन गरेको  अध्यक्ष न्यौपानेले बताए ।

महोत्सवको उद्घाटन सत्रमा अपराह्न १ बजे दर्जनभन्दा बढी विभिन्न जातिका भेसभुसा , बाजागाजा, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी र सुवेक्षुकहरुको उपस्थितिमा नगर परिक्रमा गरिने जानकारी दिइयो ।  नगर परिक्रमा संघको कार्यालयबाट प्रारम्भ हुने भएको छ । नेपाल सहित छिमेकी मुलुकका उपभोक्तालाई एकै थलोबाट उपभोग्य वस्तुको खरिद र अवलोकन गराउँदै आर्थिक गतिविधिलाई थप चलायमान बनाउन यो महोत्सवले टेवा पु¥याउने बताइएको छ ।

 

सम्बन्धित समाचार