बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु
झापा । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरू भारत, बङ्गलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरूको अवलोकन र बिक्री वितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको उद्घाटन गर्नु हुँदै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिएका छन् ।
सरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको प्रवर्द्धनमा नै लक्षित रहेको उनको भनाई थियो । अन्तर्देशीय राजमार्ग (एसियन हाइवे) को निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उनले औल्याए । व्यापार प्रवर्द्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री कार्कीको भनाई छ ।
प्रदेश सरकारले २०८० साललाई पर्यटन वर्ष घोषणा गरिसकेको छ । स्थानीय उत्पादन र स्वरोजगार मूलक उद्यमको प्रवर्द्धनमा पर्यटन वर्षले थप टेवा दिने उनले विश्वास दिलाए । लगानी सम्मेलन र चिया सम्मेलन समेत गरिने आगामी वर्ष दश करोड भन्दा माथिका सामूहिक योजना सरकारसमक्ष पेस गर्न उद्योगी व्यवसायीलाई उनको आग्रह छ । उनले कोशी प्रदेशमा तीन वटा पदमार्गका लागि बजेट विनियोजन गरिसकेको पनि जानकारी गराए । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रवर्द्धन तथा होटेल व्यवसाय सहयोगी बन्न सक्ने भन्दै अन्यत्रभन्दा झापा जिल्ला प्रचुर सम्भावनाको क्षेत्र रहेको मुख्यमन्त्री कार्कीको दाबी छ ।
कार्यक्रममा बोल्दै खानेपानी सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आशा व्यक्त गरे । संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्योगी व्यवसायीलाई सहजता प्राप्त हुने गरीको वातावरण तयार गर्न सरकार समक्ष माग गरे । नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर एन्ड कमर्सका उपाध्यक्ष चण्डीराज ढकालले व्यवसाय प्रवर्द्धनका लागि सरकारका तीन वटै तह जिम्मेवार हुनुपर्ने बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन सत्रमा बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाईँ, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबे , दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० वटा व्यवसायीक स्टल रहेका छन् । खेल सामग्री, फुडकोड,सेल्फीजोन समेत रहेको महोत्सव अवधिभर नेपालका प्रशिद्ध कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।
कार्यक्रममा महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले स्वागत मन्तव्य राखेका थिए। त्यसअघि संघको कार्यालयबाट उद्योगी व्यवसायीहरू तथा सुवेक्षुकहरुको समूह विभिन्न झाँकीहरू सहित नगर परिक्रमा गर्दै महोत्सव स्थल पुगेको थियो ।
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवलाई एपोलो पेन्ट्सले मुख्य प्रायोजन गरेको महोत्सव अनुगमन समिति संयोजक गोमा भट्टराईले जानकारी दिए ।