बिर्तामोडमा अढाई करोड लागतमा गायत्री मन्दिर निर्माण, माघ १७ गते प्राण प्रतिष्ठान
बिर्तामोड । झापाको बिर्तामोडमा २ करोड ५० लाख रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण गरिएको छ । स्थानीय दानवीर परिवारहरू, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा बिर्तामोड नगरपालिका– ५ स्थित अग्रसेन भवन नजिकै गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण प्रारम्भ भएको थियो ।
मन्दिर निर्माण सम्पन्नसँगै बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको बताइएको छ । मन्दिर उद्घाटनसँगै गायत्री माताको आगामी माघ २१ गते विधि पूर्वक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिनुभयो । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा गर्नु अघि मन्दिर परिसरबाट निकालिएको शोभा यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसँगै माघ १७ गते प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको कार्यक्रम संयोजक वंशलको भनाई छ ।
माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद वितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरूको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धिरज सिंह राजपूत र नेहा सिंह राजपूत सहभागी हुने वंशलले जानकारी दिनुभयो ।
वैदिक सनातन र हिन्दु धर्म अन्तर्गत गायत्री मताको महत्त्वपूर्ण स्थान छ । गायत्री मातालाई जननी मानिन्छ । गायत्री मातालाई वेद माता पनि भन्ने गरिन्छ । माता पार्वती, माता सरस्वती, माता लक्ष्मीको अवतारको रुपमा समेत गायत्री मातालाई लिने गरिन्छ । ऋषि विश्वामित्रले गायत्री माताका नाममा घोर तपस्या गरेर गायत्री मन्त्र प्राप्त गरी प्रचलनमा ल्याउनु भएको र आज पर्यन्त गायत्री मन्त्रको जप गरिँदै आएको बताइन्छ ।
ज्ञान र शक्तिको रुपमा लिइने वेद माताको स्मरण मात्रैले पनि सांसारिक जीवनका सबै प्रकारका कष्टहरूबाट मुक्ति मिल्ने र जीवनका हर मनोरथ पुरा हुने धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार आम विश्वास गरिन्छ ।