गायत्री माताको मन्दिर उद्घाटन र प्राण प्रतिष्ठा सफल बनाउन ४८ वटा संघसंस्थाको साझा प्रतिबद्धता
झापा । बिर्तामोडमा पहिलो पटक माघ १७ गतेबाट २१ गतेसम्म आयोजना गरिएको पाँच दिवसीय धार्मिक अनुष्ठान सफल बनाउन विभिन्न ४८ वटा संघ संस्थाले सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले धार्मिक अनुष्ठानलाई सफल बनाउन आ– आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बिर्तामोड ५ अग्रसेन भवन नजिक बालाजी टोलमा गायत्री माताको मन्दिर उद्घाटन र माताको प्राण प्रतिष्ठा गर्न धार्मिक अनुष्ठान आयोजना गरिएको हो । जसका लागि गायत्री मन्दिर सेवा समितिले अनुष्ठान सफल बनाउन यहाँका विभिन्न ४८ वटा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिसँग परामर्श सहित संवाद गरेको छ ।
अनुष्ठानको उद्घाटन, मन्दिरको शिलान्यास र माताको प्राण प्रतिष्ठाका लागि सभामुख देवराज घिमिरे, कोशी प्रदेशका सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको समेत उपस्थिति रहने भएकाले सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय झापा र सुरक्षा निकायका प्रमुखसँग समेत छलफल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी , सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राई सहितको उपस्थितिमा मन्दिर परिसरमा सुरक्षा संवेदनशीलताका विषयमा छलफल भएको हो ।
प्रदेश सरकार, स्थानीय तह बिर्तामोड नगरपालिका र स्थानीय दानवीर दाताको सहयोगमा दुई करोड ५० लाख रुपैयाँ लगानी गर्दै नगरमा नै पहिलो र झापामा चौथो गायत्री माताको मन्दिर निर्माण भएसँगै उद्घाटनका लागि गायत्री मन्दिर सेवा समितिले धार्मिक अनुष्ठानको आयोजना गरेको हो ।
२०८० साल जेठ १७ गतेबाट निर्माण प्रारम्भ भएको माताको मन्दिर १० घुर जमिनमा निर्माण गरिएको छ । पाँच धुर जमिन दाताले प्रदान गरेको र पाँचधुर जमिन समितिले खरिद गर्दै मन्दिर निर्माणको काम सम्पन्न गरिएको कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए ।
गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसँगै माघ १७ गते प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य विशेष प्रवचन हुने र माघ २१ गते माताको प्राण प्रतिष्ठा मुख्यमन्त्री कार्कीले गर्ने कार्यक्रम रहेको वंशलले जानकारी दिए ।
माघ २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद वितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरूको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धिरज सिंह राजपूत र नेहा सिंह राजपूत सहभागी हुने वंशलले जानकारी दिए ।