२०८३ बैशाख ७ गते , सोमबार

गायत्री मन्दिरमा पाँच दिवसीय अनुष्ठानको तयारी पूरा, सभामुखद्वारा उद्घाटन

sajilo news
झापा
२०८१ माघ १६ गते , बुधबार
गायत्री मन्दिरमा पाँच दिवसीय अनुष्ठानको तयारी पूरा, सभामुखद्वारा उद्घाटन

झापा । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ । माघ २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको बिहीबार बिहान प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले कलशमा गंगाजल अर्पण गरेर निसान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

बिहान ८ बजे बिर्तामोड ५ स्थित बालाजी मन्दिर परिसरमा आयोजित कार्यक्रमकाबीच सभामुख घिमिरेले कलशमा गंगाजल अर्पण गरेपछि शोभायात्रा प्रारम्भ हुने र पाँच सय भन्दा बढी भक्तजनको सहभागितामा बिर्तामोड नगर परिक्रमापछि गायत्री मन्दिर परिसरमा पुगेर कलसयात्रा  बिर्सजन हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए । जसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आचार्य आशुतोष खनालको संयोजनमा २१ जना ब्राह्मण र एक सय जना बटुक अनुष्ठानमा सहभागी रहने छन् ।  

नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा दैनिक भजन कीर्तनको आयोजना गरिएको र स्थानीय भजन कीर्तन मण्डलीले समेत पाँच दिनसम्म भजन कीर्तन गर्ने बताइएको छ ।भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धिरज सिंह राजपूत र नेहा सिंह राजपूत सहभागी हुने वंशलले जानकारी दिए ।

त्यस्तै  अनुष्ठानमा सहभागीका लागि दैनिक महाप्रसाद वितरण गरिने मन्दिर निर्माण समितिले जनाएको छ । आगामी माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको छ ।

आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन परिसरमा दाता परिवारहरू, स्थानीय सरकार बिर्तामोड नगरपालिका र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।

अढाई करोड रुपैयाँ लगानी गर्दै माताको मन्दिर निर्माण सम्पन्नसँगै मन्दिर उद्घाटन गर्नु पूर्व मन्दिरको सजावट, शनिश्चरे रोड सरसफाइदेखि अनुष्ठान परिसर नजिकै घुम्ती शौचालय निर्माणको काम सम्पन्न भएको छ । मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । जसका लागि स्पाइन एक्स हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ । 

सम्बन्धित समाचार