दुर्घटनापछि प्रयागराज महाकुम्भ मेला दर्शनका लागि धेरै नियम परिवर्तन
भारतको उत्तर प्रदेशको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा मंगलवार राति भएको दुर्घटनासँगै प्रशासनले कैयौँ नियम परिवर्तन गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले बिहीवार केही पदाधिकारीलाई परिवर्तन गरेको छ भने आवागमनका नियममा कडाइ गरेको छ।
मंगलवार मौनी अमावस्याका दिन भागाभाग हुँदा ३० जनाको मृत्यु भएको थियो भने ६० जना घाइते भएका थिए। योगी सरकारले दुर्घटनाका मृतकका परिवारलाई २५-२५ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
महाकुम्भ क्षेत्रमा हुने भीडलाई नियन्त्रण गर्न र भक्तजनको सुरक्षा सुनिश्चित गर्न परिवर्तन गर्नुपरेको योगी सरकारले जनाएको छ। प्रदेश सरकारले प्रशासनको निर्देशन पालना गरी भीडभाड हुन नदिन सहयोग गर्न भक्तजनहरूसँग अनुरोध पनि गरेको छ।
प्रदेश सरकारले २०७५ सालमा प्रयागराजको अर्धकुम्भ आयोजना गरेका अधिकारी आशीष गोयल र भानु गोस्वामीलाई जिम्मेवारी सुम्पिएको छ। पौष शुक्ल पूर्णिमा (पुस २९ गते)देखि शुरु भएको कुम्भ मेला फागुन १४ गते शिवरात्रिमा समापन हुनेछ।
कुम्भ मेलामा ६ दिन अमृत स्नान हुने प्रचलन छ। पुस २९ गते पौष पूर्णिमा‚ माघे संक्रान्ति‚ माघ कृष्ण अमावास्या (माघ १६ गते)‚ वसन्तपञ्चमी (माघ २१ गते)‚ माघ शुक्ल पूर्णिमा (माघ ३० गते) र शिवरात्रि (फागुन १४ गते) अमृत स्नान गर्ने परम्परा छ।
बुधवार रातसम्म ४४ घाटमा १० करोड श्रद्धालुले स्नान गरेको अनुमान छ। हाल प्रयागराजमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ। मुख्यमन्त्री योगीले गंगा सबैतिर पवित्र भएकाले संगम क्षेत्रमा अनावश्यक भीडभाड नगरी अन्य घाटमै स्नान गर्न श्रद्धालुलाई अनुरोध गरेका छन्।
यसअघि प्रवेश र निष्काशन मार्ग उही थियो। नियम परिवर्तन गरिएसँगै बाटोबाट फिर्ता हुनेछन्।
१. मेला क्षेत्रलाई पूर्ण सवारी निषेधित क्षेत्र घोषणा गरिएको छ। अब सबै खालका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको छ।
२. सरकारले सबै भीभीआईपी पासहरू रद्द गरेको छ। अब विशेष पासबाट महाकुम्भ क्षेत्रमा प्रवेश गर्न पाइनेछैन।
३. महाकुम्भ क्षेत्रका सबै सडक एकतर्फी बनाइएको छ। भक्तजनको सहज आवतजावतका लागि एकतर्फी मार्गको व्यवस्था गरिएको छ।
४. प्रयागराजमा सवारीसाधनको प्रवेश निषेध गरिएको छ। प्रयागराज छेउछाउका जिल्लाबाट आउने सवारीसाधन जिल्लाको सिमानामै रोकिएका छन्।
५. सरकारबाट यी कडा प्रतिबन्ध फागुन १४ शिवरात्रिसम्म लागू रहनेछन्। योसँगै प्रयागराज शहरमा एम्बुलेन्स र दमकल बाहेक सबै खाले चारपांग्रे सवारीसाधन प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ।