मुख्यमन्त्री कार्कीले गरे गायत्री मन्दिरको उद्घाटन
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक सहिष्णुताका हिसाबले कोशी प्रदेश अन्यभन्दा विशिष्ट रहेको बताएका छन् । नेपालमा रहेका १२ वटा ज्योतिर्लिङ्गमध्ये कोशी प्रदेशमा सबैभन्दा धेरै ज्योतिर्लिङ्ग रहेको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी आफैँमा विशिष्ट प्रदेश भएको बताएका हुन् ।
बिर्तामोड-५ स्थित बालाजी टोलमा निर्मित गायत्री माताको प्राण प्रतिष्ठापछि मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक सहिष्णुतासँगै कोशी प्रदेशमा ८ हजार मिटरभन्दा उचाइमा रहेका हिमालको सङ्ख्या पनि अन्य प्रदेशभन्दा धेरै भएको र विश्वको सर्वोच्च शिखर सगरमाथा पनि यही प्रदेशमा भएकाले यो प्रदेशको विशिष्ट स्थान रहेको उल्लेख गरे । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने र कोशी प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको समेत विकास गरेर लैजाने धारणा राखे । उनले कोशी प्रदेशमा लगानी सम्मेलन गर्दै चिया लगायतका कृषिजन्य बालीको विकासमा समेत टेवा पुर्याउने विशेष खालका योजना अघि सारेको बताए ।
नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले कोशी प्रदेश धार्मिक पर्यटनका हिसाबले नेपालकै अब्बल प्रदेश रहेको बताउँदै यसको संरक्षण र सम्र्वद्धनका लागि सरकारले सहयोग गर्नु पर्ने धारणा राखे । नेपाल सरकारले अङ्ग्रेजी सम्वतलाई नयाँ वर्षका रुपमा मनाउने गरेपनि कोशी प्रदेश सरकारले आगामी वैशाख १ गतेबाट नेपालको पर्यटन वर्ष मनाउने योजनाको प्रशंसा गरेका छन् ।
गायत्री माता मन्दिर निर्माण समितिका संयोजक रौनक वंशलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । मन्दिरको संरक्षण, रेखदेख र अपनत्वका लागि झापाका विभिन्न ८२ वटा संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।