२०८३ बैशाख ४ गते , शुक्रबार

काँकडभिट्टा-लौकही जोड्ने ‘एशियन हाइवे’ निर्माणले गति लिँदै

sajilo news
रासस
२०८१ माघ २५ गते , शुक्रबार
काँकडभिट्टा-लौकही जोड्ने ‘एशियन हाइवे’ निर्माणले गति लिँदै

मोरङ  । सडक सञ्जालमार्फत एशियाली देशहरुलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ ।

एशियन राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि अहिले ९५ दशमलव ७६ किलोमिटर सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको हो ।

काँकडभिट्टादेखि सीतापुरसम्मको ४५ किलोमिटर सडक दमकमा रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ ।

दुवै कार्यालयका अनुसार यस एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । यसै आर्थिक वर्षभित्र कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए ।

त्यस्तै आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पनि यसै आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेको बताए ।

नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एशियन हाइवे ’ जोडिएकाले यसले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए।

सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने उनको भनाई छ ।

एशियन हाइवे थाइल्यान्डको बैंककबाट शुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । 

सम्बन्धित समाचार