महाशिवरात्रिको अवसरमा चन्द्र मौलेश्वर सोम तीर्थधाम भद्रपुरमा महापुराण सुरु
भद्रपुर । भद्रपुर-४ स्थित चन्द्र मौलेश्वर सोम तीर्थधाममा आइतबारदेखि स्कन्ध महापुराण सुरु भएको छ । आउँदै गरेको महाशिवरात्रि पर्वको अवसरमा चन्द्र मौलेश्वर सोम तीर्थ धाममा अक्षयकोष अभिवृद्धि तथा राधाकृष्ण मन्दिर निर्माण पूर्णता दिने उद्देश्यले ८१ हजार श्लोक भएको स्कन्ध महापुराणको आयोजना गरिएको महापुराण व्यवस्थापन समितिका अध्यक्ष शंकर रिजालले जानकारी दिए । उक्त महापुराणको आज भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् ।
तीर्थधामका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नगर अध्यक्ष तथा ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशी, एमाले जिल्ला उपसचिव असारु राजवंशी लगायतले मन्तव्य राखेका थिए । महापुराण अघि विभिन्न झाँकीसहित कलश यात्रा पनि गरिएको थियो ।
फागुन १५ गतेसम्म सञ्चालन हुने महापुराणको कथा वाचक आचार्य पं. चक्रपाणि नेपालका मुखारविन्दबाट श्रीस्कन्द महापुराणको सङ्गीतमय कथा प्रवचन तथा उप वाचकहरू पं. अभिनारायण कट्टेल, पं. पीताम्बर अधिकारी, पं. गोकुल आचार्य, प. बालकृष्ण नेपालबाट पाठपारायण तथा लोकप्रिय भजन गायकहरू रञ्जना चौधरी र रामनारायण चौधरीबाट सङ्गीतमय भजनसहितको धार्मिक कार्यक्रम तथा धन धान्याचल ज्ञान महायज्ञ हुने समितिका अध्यक्ष रिजालको भनाई छ । यस महापुराणमा पितृ उद्धारका निम्ति सबैको उपस्थितिका लागि उनले आग्रह समेत गरेका छन् ।