अमेरिकाबाट ७६ यात्रु लिएर गएको विमान क्यानडामा दुर्घटना
क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमान पल्टिँदा अरु १२ जनालाई सामान्य चोटपटक लागेको छ। गम्भीर घाइते हुनेमा एक बालक, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष छन्।
विमानमा ७६ यात्रु र चालक दलका चार सदस्य गरी ८० जना सवार थिए। सबैलाई विमानबाट निकालेर सुरक्षित स्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। एबीसी न्युजका अनुसार विमान मिनियापोलिसबाट स्थानीय समय अनुसार सोमबार बिहान ११:३४ बजे उडेको थियो। विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो।
प्रहरीले दुर्घटनाको वरपरको अवस्थाबारे केही बताएको छैन। विमान दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन्। क्यानडाकी यातायातमन्त्री अनिता आनन्दले घटनालाई गम्भीररूपमा लिएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ।
क्यानडाको यातायात सुरक्षा बोर्ड (टीएसबी) ले अनुसन्धानकर्ताको टोली खटाउने बताएको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धानकर्ताको टोलीले टीएसबीलाई सहयोग गर्ने भनेको छ।