झापाबाट ‘जनतासँग माओवादीस् तराई–मधेश जागरण अभियान’ को शुभारम्भ
अब हाम्रो ध्यान सरकारतिर होइन, जनतातिर छ : प्रचण्ड
झापा । नेकपा (माओवादी केन्द्र)ले झापाबाट ‘जनतासँग माओवादीस् तराई–मधेश जागरण अभियान’ को शुभारम्भ गरेको छ । जिल्लाको कचनकवल गाउँपालिका–६ बनियानीमा सोमबार आयोजित एक भव्य समारोहका बीच हुलाकी राजमार्ग केन्द्रित अभियानको शुभारम्भ गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हाम्रो ध्यान सरकारतिर होइन, अबको ध्यान जनतातिर रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधानलाई अझ सुदृढ गर्न, जनताले पाएको अधिकारलाई अझ परिमार्जन गर्ने, हाम्रो वर्ग र मुद्दासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन पार्टी सङ्कल्पका साथ जनताको अगाडि आएको बताए ।
मैले सदनमै जनताहरूको तागतको बलमा तिमीहरूको भ्रष्ट सरकारलाई तह लगाउने सङ्कल्प गरेको थिए । सोही सङ्कल्प बमोजिम ‘जनतासँग माओवादीस् तराई मधेश जागरण अभियान’ को शुभारम्भ गरिएको प्रचण्डको भनाई छ ।
‘पार्टी यो अभियानको क्रममा जनतासँग आत्मालोचना, समीक्षा र भुल स्वीकार गर्दै अघि बढ्ने र जनताले हामीलाई साथ दिनेमा विश्वास छ,’ उनले थपे ।
माओवादी पार्टी आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताउँदै उनले भने, ‘काँग्रेस र एमालेसँग मिल्दा कहिले पार्टी ठुलो भएन, बरु नमिल्दा उपनिर्वाचनमा पार्टीले धेरै सिट जित्यो ।’ २०८० को निर्वाचन जनताको तागत र बलमा लड्ने उनको दाबी छ । उनले एमाले र काँग्रेस मिलिरह्यो भने माओवादी बढेको बढै गर्छ । अहिलेको ओली नेतृत्वको यो अप्राकृतिक र अलोकतान्त्रिक सरकार हो । लोकतन्त्रमा दुनियाँमा कहिपनि अपवाद र ठुलो विपद्को बेलामा बाहेक सदनको पहिलो र दोस्रो दल संसारमा कहिले पनि मिलेर सरकार बनाउँदैन । यसको उदाहरण छिमेकी राष्ट्र भारत हिन्दुस्तानलाई हेरे पुग्छ । ‘भारतमा जतिसुकै संकट आइपर्दा पनि बिजेपी र काँग्रेस मिलेर कहिल्यै सरकार बनाएन, त्यसैले यो अप्राकृतिक र अलोकतान्त्रिक सरकार हो,’ उनले भने ।
तराई–मधेश जागरण अभियानको शुभारम्भ कार्यक्रममा पार्टीका नेताहरु नारायण काजी श्रेष्ठ, अग्नि सापकोटा, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत, पूर्णसिंह राजवंशी लगायतले सम्बोधन गरेका थिए । अभियानको क्रममा पार्टीले झापामा एकैदिन तीन सभा गरेका थिए ।