नेता मिश्र र राणाको रिहाइको माग गर्दै भद्रपुरमा राप्रपाको प्रदर्शन
भद्रपुर । ‘राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई बिनासर्त रिहाइको माग गर्दै झापाको सरदमुकाम भद्रपुरमा राप्रपाले मशाल जुलुससहित विरोध प्रदर्शन गरेको छ ।
आज साँझ भद्रपुर–६ स्थित राप्रपाको कार्यालय अगाडिबाट राप्रपा भद्रपुर नगर समितिको आयोजनामा मशाल जुलुससहित विरोध प्रदर्शन गरेको हो । ।
नगर समिति अध्यक्ष राजकुमार राईको नेतृत्वमा केन्द्रीय सहमन्त्री भारतेन्दुकुमार मल्लिक, पार्टीका जिल्ला उपाध्यक्ष सिता लम्साल लगायतको उपस्थितिमा निकालिएको जुलुसले राप्रपाका वरिष्ठ नेता मिश्र र महामन्त्री डा. राणालाई बिनासर्त रिहाइको माग गर्दै “राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, नालायक सरकार मुर्दावाद, तीनकुने घटनाको न्यायोचित छानबिन गर, घटना परी मृतकलाई शहिद घोषणा गर, गणतन्त्र मुर्दावाद, गृहमन्त्री राजीनामा दे, हाम्रो नेतालाई रिहा गर, राप्रपा जिन्दाबाद” जस्ता नारा लगाएका थिए । मशाल जुलुस जनता चोकतर्फ हुँदै भद्रपुर बजारको कामेश्वर कम्प्लेक्स अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । प्रहरीले कार्यकर्ताहरुको हातबाट मशाल खोसेका थिए ।