२०८३ बैशाख १० गते , विहीबार

आजदेखि अमेरिकाले विश्वभर पारस्परिक कर लगाउने

sajilo news
एजेन्सी
२०८१ चैत्र २० गते , बुधबार
आजदेखि अमेरिकाले विश्वभर पारस्परिक कर लगाउने

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विश्वभर पारस्परिक करको घोषणा गर्ने जनाइएको छ। ट्रम्पले बुधबार स्थानीय समय अनुसार साँझ ४ बजे रोज गार्डेनमा 'मेक अमेरिका वेल्थी अगेन' कार्यक्रममा भाषण दिने ह्वाइट हाउसले मंगलबार जानकारी दिएको थियो। यस कार्यक्रममा पारस्परिक ट्यारिफ सम्बन्धी घोषणा गरिनेछ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले कर घोषणा भएलगत्तै लागू हुने बताइन्। ट्रम्पले धेरै पटक अप्रिल २ लाई अमेरिकाको मुक्ति दिवसको रूपमा वर्णन गरेका पनि उनले उल्लेख गरेकी छन्। यस दिन उनीहरूले भारत लगायत अन्य धेरै देशहरूमा पारस्परिक शुल्क लगाउने उनको भनाइ छ। 

क्यारोलिन लेभिटले मंगलबार मिडियालाई भनिन्, 'ट्रम्पले बुधबार लगाउने करको स्तरको बारेमा पहिले नै निर्णय गरिसकेका छन्। म राष्ट्रपतिविपरित जान चाहन्नँ। यो एउटा ठूलो दिन हो। उनी हाल आफ्नो व्यवसाय र ट्यारिफ टोलीसँग छन्। हामी यसलाई अझ राम्रो बनाउँदैछौं। यसले अमेरिकी जनता र कामदारहरूको लागि फाइदा हुनेछ। २४ घण्टा भित्र करको बारेमा सबैले थाहा पाउनुहुनेछ।'

 अमेरिकाले आजबाट लागू गर्ने पारस्परिक शुल्क एक प्रकारको सीमा शुल्क हो जुन कुनै पनि देशले विदेशबाट आउने सामानहरूमा लगाउँछ। यो कर आयातकर्ता कम्पनीमाथि लगाइन्छ। यसलाई बढाएर वा घटाएर देशहरूले आपसमा व्यापार नियन्त्रण गर्छन्।
 
ट्रम्पले केही अघि भाषणमा अन्य देशहरूले अमेरिकामा भारी भन्सार लगाएका तर अमेरिकाले धेरै कम कर लगाइरहेको बताएका थिए। अमेरिकामाथि धेरै अन्यायपूर्ण कार्य देशहरूले दशकौंदेखि गर्दै आएका र अब अमेरिकाले पनि बराबर कर लगाउने उनले उल्लेख गरेका थिए। ट्रम्पले केहीअघि भनेका थिए, 'अमेरिकामा अप्रिल २ देखि 'पारस्परिक ट्यारिफ' लागू हुनेछ। यसको अर्थ उनीहरूले हामीमाथि जति ट्यारिफ लगाउँछन् हामी उनीहरूमाथि पनि त्यति नै लगाउनेछौं।' ट्रम्पले हाँस्दै आफूले कर अप्रिल १ मा लागू गर्न चाहेको तर मानिसहरूले यसलाई 'अप्रिल फूल' मनाएको सोच्न सक्ने भएर यसो नगरेको बताए।

सम्बन्धित समाचार