२०८३ बैशाख १० गते , विहीबार

जुत्ता लुकाएको विषयमा ५० हजार रुपैयाँ मागेपछि विवाद, बेहुली नै छाडेर फर्कियो जन्ती

sajilo news
एजेन्सी
२०८१ चैत्र २६ गते , मंगलबार
जुत्ता लुकाएको विषयमा ५० हजार रुपैयाँ मागेपछि विवाद, बेहुली नै छाडेर फर्कियो जन्ती

भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किएको छ। जुत्ता लुकाएको विषयमा विवाद बढेपछि जन्ती रित्तै फर्किएको दैनिक भास्करमा उल्लेख छ। जुत्ता लुकाएबापत दुलही पक्षले ५० हजार रुपैयाँ मागेको थियो। बेहुला पक्षले उक्त पैसा दिन अस्वीकार गरेपछि विवाद सुरु भयो। तर बेहुला पक्षले भने दुलही पक्षले बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएको छ। उनीहरूले अपशब्द तथा गाली गलौज गरेको पनि आरोप लगाएका छन्। तर बेहुलीका परिवारले भने उक्त कुरा अस्वीकार गरेका छन्। बेहुला पक्षले दाइजोमा कार माग गरेको उनीहरुको आरोप छ।

विवाद चर्किएपछि उनीहरू प्रहरी चौकीसम्म पुगेर एकअर्काविरुद्ध उजुरी दिएका थिए। अन्तिममा दुबै पक्षबीच भएको विवादको कारण जन्ती दुलही बिना नै फर्किएको हो। स्थानीय खुर्शीदकी छोरीको विवाह देहरादूनमा सैलुन चलाउने मोहम्मद साबिरसँग हुने तय भएको थियो। शनिबार निकाहपछि विवाहको विधि चलिरहेको थियो। जुत्ता लुकाइको पैसा माग्ने विषयमा विवाद सुरु भयो। दुलही पक्षले जुत्ता फिर्ता गर्न ५० हजार रुपैयाँ माग्यो। बेहुला पक्षले यति ठूलो रकम तिर्न अस्वीकार गरेर ५ हजार रुपैयाँ दिने भन्यो।

रमाइलोको रूपमा सुरु भएको उक्त विषय विवादमा परिणत भयो। बेहुला पक्षले बेहुला र उनको परिवारलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएको छ। जबकि बेहुली पक्षले बेहुलाले दाइजोमा स्विफ्ट कार मागेको बताएको छ। दाइजोमा २ लाख रुपैयाँको चेक पनि दिएको साथै केटा पक्षले अभद्र व्यवहार गरेको उनीहरूले जनाएका छन्।

विवाद बढ्दै गएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले दुवै पक्षलाई प्रहरी चौकीमा बोलाएर समस्या समाधान गर्ने प्रयास गरेको थियो। तर सम्झौता हुन सकेन। बेहुलाले बेहुलीसँग सम्बन्ध विच्छेद गरिसकेका छन् । विवाहको जन्ती बेहुली बिना नै फर्किएको छ। 

भारत तथा नेपालमा विभिन्न समुदायमा विवाहमा सालीले जुत्ता लुकाउने चलन रहेको छ। जुत्ता लुकाएपछि बेहुला पक्षले उनीहरुले मागेअनुसारको पैसा दिएर वा उनीहरूको चित्त बुझाएर जुत्ता फिर्ता लिने चलन छ।  

सम्बन्धित समाचार