ससुराको बन्चरो प्रहारबाट ज्वाइँको मृत्यु
इलाममा ससुराको बन्चरो प्रहारबाट घाइते भएका ज्वाइँको उपचारका क्रममा मृत्यु भएको छ । चैत २० गते बिहान ११ बजे इलाम नगरपालिका-१२ साङरुम्बा बस्ने ८८ वर्षीय अम्बरसिंह लिम्बूले ससुरालीमा बस्दै आएका आफ्नै ज्वाइँ ५० वर्षीय कृष्ण जवेगुलाई बन्चरो प्रहार गरी घाइते बनाएका थिए । टाउकोमा चोट लागेर गम्भीर अवस्थाका जवेगुलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएकोमा त्यहाँ सम्भव नभएपछि सोही दिन थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो ।
तर घाइतेको अवस्थामा सुधार नआएको र आफन्तको आर्थिक स्थिति कमजोर रहेकाले जवेगुलाई बिहीबार राती बीएण्डसी अस्पतालबाट जिल्ला अस्पताल इलाम फिर्ता लगिएको थियो । शुक्रबार दिउँसो १.१० बजे जिल्ला अस्पताल इलाममा उपचारको क्रममा जवेगुलाई डाक्टरले मृत घोषणा गरेका थिए । घाइतेको उपचारमा संलग्न रहेका ससुरा अम्बरसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।