काँकडभिट्टा प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको आदेश
अमेरिकाबाट निष्कासित भई भुटानबाट पुनः लखेटिएर नेपाल प्रवेश गरेका चार भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनीहरूलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ । थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष् सुवेदीको तर्फबाट नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उनीहरूलाई तत्काल निष्कासन नगर्न भनेको हो । चारै जना नेपाली मूलका भुटानी नागरिक हुन् । जो दशकौँअघि नेपालमा शरणार्थीको रूपमा बस्दै आएका थिए । पछि संयुक्त राष्ट्रसङ्घीय पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुनर्वास गरिएका उनीहरूलाई अमेरिका सरकारले गएको चैत ११ गते निष्कासन गरेको थियो । उनीहरूलाई आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा निष्कासन गरिएको हो । निष्कासनपछि उनीहरू भारतको दिल्ली हुँदै भुटान पुगेका थिए । तर भुटान सरकारले उनीहरूलाई अस्वीकार गरी देश निकाला नै गरेको थियो । उनीहरू चैत १३ गते राति अवैध रुपमा नेपाल प्रवेश गरेका थिए । चैत १४ मा दमकको बेलडाँगी शरणार्थी शिविरबाट तीन जना र त्यसको २ दिनपछि अर्का शरणार्थी अशोक गुरुङ बाहुनडाँगीबाट पक्राउ परेका थिए । प्रहरी हिरासतमा राखेर अध्यागमन विभागले अनुसन्धान गरिरहेका उनीहरूलाई देश निकाला गर्नु पर्ने आशयको प्रतिवेदन दुई दिनअघि सरकारलाई बुझाइएको थियो ।
यसैबीच रिट निवेदकले उनीहरूलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै सर्वोच्च अदालतको सरोकार मागिएको छ । अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भन्दै ६३ जना भुटानी शरणार्थीलाई निष्कासन गर्ने सूची बनाएको थियो । तीमध्ये १३ जना र थप ५ गरी अहिलेसम्म १८ जना शरणार्थी भुटान सरकारलाई बुझाइसकेको छ । ४ जना शरणार्थी नेपालमा पक्राउ परेका छन् । बाँकी १४ जनाको अत्तोपत्तो छैन । उनीहरूको जीउधनको सुरक्षाका लागि अधिकारकर्मीहरूले माग गर्दै आएका छन् ।