२०८३ बैशाख ४ गते , शुक्रबार

भद्रपुर नाकाबाट भित्राइएको २० कार्टुन मोबाइल पार्टस बरामद, भद्रपुर भन्सारले बुझ्न मानेन सामान

sajilo news
झापा
२०८२ बैशाख ७ गते , आईतबार
भद्रपुर नाकाबाट भित्राइएको २० कार्टुन मोबाइल पार्टस बरामद, भद्रपुर भन्सारले बुझ्न मानेन सामान

झापाको भद्रपुर नाकाबाट भन्सार छलेर भित्राइएको मोबाइलका पार्टस तथा सामग्रीसहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ  । 

भद्रपुर–५ स्थित दोभान नाकाबाट भित्राइएको २० कार्टुन मोबाइल पार्टस बा १८ च ४६१६ नम्बरको पिकअप गाडीमा हालेर लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र घोडामारा प्रहरी चौकीको संयुक्त टोलीले शनिबार राती ८ बजे भद्रपुर ९ घोडामाराबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले गाडी चालक भद्रपुर नगरापालिका–५ निवासी २३ वर्षीय राहुल कामतलाई पनि नियन्त्रणमा लिएको छ । 

बरामद गरिएको मोबाइल पार्टस २९ लाख ८७ हजार दुई सय, गाडीको पाँच लाख गरी ३४ लाख ८७ हजार दुई रुपैयाँ मुल्यांकन तोकेर गाडी चालक कामतसहितलाई कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइदिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । प्रहरीले बरामद गरिएको सामान, गाडी र गाडी चालकलाई लिएर सुरुमा भद्रपुर भन्सार कार्यालय बुझाउन गएका थिए । तर, भद्रपुर भन्सारले चालकलाई नबुझ्ने, १० लाख भन्दा बढी सामान नबुझ्ने भनेपछि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाउनु परेको जनाइएको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले गएराति अन्दाजी १० बजे अर्जुनधारा– ६ छाताचौकमा बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको मोबाइल र मोबाइल पार्टसका सामानहरू बरामद गरेको छ । सो सामान पनि मेची भन्सार कार्यालय बुझाइएको जनाइएको छ ।  

सम्बन्धित समाचार