पर्यटकलक्षित आतंककारी हमला : पाकिस्तानीलाई ४८ घन्टाभित्र भारत छोड्न उर्दी, पाकिस्तानी नागरिकको भिसामा रोक
भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ। जम्मू कश्मिरमा २६ जनाको ज्यान जानेगरी आतंककारी आक्रमण भएपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको हो। भारतीय खुफिया एजेन्सीहरूले उक्त आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता पुष्टि गरेपछि भारतले यस्तो निर्णय गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको उच्चस्तरीय बैठकले पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध पनि अन्त्य गर्ने विदेश सचिव विक्रम मिश्रीले जानकारी दिए। भारतको विदेश मन्त्रालयले बुधबार राति पत्रकार सम्मेलन गर्दै भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र देश छोड्न निर्देशन पनि दिएको छ।
भारतमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरूले सात दिनभित्र देश छोड्न निर्णय गरिएको विदेश सचिव मिश्रीले बताए। पाकिस्तानमा रहेका आफ्ना पाँच कूटनीतिज्ञलाई पनि भारतले फिर्ता बोलाएको छ।
त्यस्तै भारत-पाकिस्तानको मुख्य नाका कटारी नाका पनि भारतले बन्द गर्ने भएको छ। नाकाबाट सीमा वारपार गर्ने भारतीय तथा पाकिस्तानी नागरिकलाई मे १ सम्मको समयसीमा तोकिएको छ। उक्त समयभित्र भारतीय तथा पाकिस्तानी नागरिकले उक्त नाका प्रयोग गरेर स्वदेश फर्किन सक्नेछन्। त्यस्तै भारतले पाकिस्तानसँग सम्झौता गरेको सिन्धु जल सम्झौता पनि स्थगित गरेको छ।
कश्मिरको पहलगममा मंगलबार भएको आतंककारी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको विदेश मन्त्रालयले पुष्टि गरेको छ। आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता रहेको सुरक्षा विशेषज्ञहरूले बताएका छन्। पाकिस्तानले उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताएपछि भारत झन् संशकित बनेको सुरक्षा विज्ञहरूको बुझाइ छ।