२०८३ बैशाख १४ गते , सोमबार

किन पक्राउ परे रेशम चौधरी ? यस्तो छ कारण

sajilo news
काठमाडौं
२०८२ बैशाख १७ गते , बुधबार
किन पक्राउ परे रेशम चौधरी ? यस्तो छ कारण

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।  नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको छ। उनलाई डिल्लीबजार कारागारमा समेत चलान गरिसकेको छ। पुरानो फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनी पक्राउ पर्नुको मुख्य कारण भने टीकापुर घटना नै हो। टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजायको आदेश दिएको थियो। आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको आदेश बदरको माग गर्दै चौधरी सर्वोच्च पुगेका थिए। तर,सर्वोच्चले जिल्ला र उच्चको आदेशलाई सदर गरिदिएपछि उनी कारागारमै थिए। कारागारमै रहेकै अवस्थामा सरकारले चौधरीलाई जेठ १५ गते आममाफी दिएको थियो। सर्वोच्चले आममाफीको निर्णय उल्टाइ दिएपछि उनी पक्राउ परेका हुन्।

सर्वोच्च अदालतले टीकापुर घटनामा २०८० जेठ २ गते फैसला गरेको थियो। तर, फैसलाको पूर्णपाठ नआउँदै सरकारले चौधरीलाई जेठ १५ गते आममाफी दिएको थियो। फैसलाको पूर्णपाठ भने साउन ३२ गते आएको  थियो। फैसलाको करिब ३ महिनापछि सार्वजनिक भएको पूर्णपाठमा सर्वोच्चले राष्ट्रपतिबाट भएको माफी मिनाहालाई संविधान,कानुन र न्यायको मान्य सिद्धान्त विपरीत भनेको थियो।

सर्वोच्चले टीकापुर घटना चौधरीकै नेतृत्वमा भएको ठहर गरेको थियो। थरुहट आन्दोलन क्रममा टीकापुरमा भएको घटनामा चौधरी नेतृत्वको समूहले प्रहरीमाथि ढुंगा,बन्चरो प्रहार गरी,आँखामा भाला रोपी अमानवीय,क्रूर र निर्मम ढंगले ज्यान मारेको देखिन आएकाले चौधरीमाथिको आरोपित कसुर पुष्टि हुन आएको फैसलामा उल्लेख छ।

समाजमा राजनीतिक शक्तिको आडमा आपराधिक कार्यलाई समेत राजनीतिक रूप दिने वा अपराधको राजनीतिकरण वा राजनीतिको अपराधिकरण गर्ने जोखिम सधैं रहिरहने सर्वोच्चले औंल्याएको छ। त्यस्तै,सर्वोच्चले फौजदारी कसुर आकर्षित हुने अपराधलाई राजनीतिक प्रकृतिको अपराध मानियो भने भविष्यमा फौजदारी कसुर राजनीतिक उद्देश्य प्राप्त गर्ने औजारका रुपमा प्रयोग हुने भन्दै त्यसतर्फ सचेतसमेत गराएको थियो।

५ वर्ष तीन महिना जेल सजाय मात्रै काटेका चौधरीको गणतन्त्र दिवसका अवसरमा १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो। उक्त घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराका श्रीमती शारदा कडायतले आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएकी थिइन्। सो रिट हाल विचाराधीन अवस्थामा छ।

२०७२ भदौको ७ गते थारुहट आन्दोलनका क्रममा एसएसपी लक्ष्मण न्यौपाने,प्रहरी निरीक्षक बलराम विष्ट र बोहरा,सहायक हवल्दार ललित साउद,प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द, सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारुको मृत्यु भयो भने हिंसात्मक झडपका क्रममा घरमा रहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो।

त्यसको भोलिपल्ट टीकापुरमा थारु समुदायका घर पसलहरूमा तोडफोड र आगजनी गरिएको थियो। चौधरीको फूलबारी एफएममा आगो लगाइएको थियो। त्यसपछि प्रहरीले ५८ जना थारु समुदायका व्यक्ति घटना संलग्न भएको भन्दै वारेन्ट जारी गरेको थियो। त्यसमध्ये रेशमसहितका २७ जना पक्राउ परे। रेशम चौधरी फरार रहेपछि उनले २०७४ सालको आमनिर्वाचनमा चुनाव जितेपछि संसद छिरेर आत्मसमर्पण गरेका थिए। 

सम्बन्धित समाचार