बच्चा जन्माएर फालेको आरोपमा १९ वर्षीया युवती समातिए
ओखलढुङ्गामा बच्चा जन्माएर फालेको आरोपमा १९ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफैँले जन्माएको नवजात शिशु फालेको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिका–९ की युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
युवतीले गत १४ गते घरमा बच्चा जन्माई नजिकैको आफ्नै अर्को घरमा फालेकी थिइन् । इलाका प्रहरी कार्यालय रामपुर बरुणेश्वरबाट प्रहरी निरीक्षक मनिष लुइँटेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त शिशुको टाउको मात्र फेला पारेको छ ।
शिशुलाई कुकुरले खादै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीरको अन्य भाग कुकुरले खाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
जन्मने बित्तिकै शिशु फालेको आरोपमा आइतबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
अनुसन्धानका लागि युवतीलाई प्रहरीले सुनकोशी गाउँपालिका–७ च्यानमबाट पक्राउ गरेको हो ।