बिर्तामोड र दमकमा ग्याङफाइट, दुईजना घाइते, दुई पक्राउ
झापाको बिर्तामोड र दमकमा युवाहरुबीच गएराति ग्याङफाइट भएको छ । दुई समूहबीचको झडपमा दुईजना घाइते भएका छन् भने दुईजना पक्राउ परेका छन् । गएराति अन्दाजी ९ः५५ बजे बिर्तामोड नगरपालिका-६ स्यालडाँगी चोकमा सोही ठाउँ बस्ने १७ वर्षीय आरएन राजवंशी , १३ वर्षीय विष्णु खवाससहित उनका साथीहरू तत्काल नाम थर वतन नखुलेको ६ जना र बिर्तामोड नगरपालिका वडा नम्बर ६ बस्ने १३ वर्षीय राज सुन्दाससहित उनका साथीहरू तत्काल नाम थर वतन नखुलेको ८/९ जनाबिच ग्याङफाइट भएको हो । त्यसक्रममा आरएन राजवंशीको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर राज सुन्दास र विष्णु खवासलाई नियन्त्रणमा लिएको छ । फरार रहेका अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै दमकमा पनि युवाका दुई समूहबीच झडप भएको छ । गएराति अन्दाजी ८ बजे दमक नगरपालिका वडा नं. ५ क्याम्पस मोडमा वडा नं १० सेतुमारी बस्ने २५ वर्षीय केशव श्रेष्ठले सञ्चालन गरेको मोबाइल पसल अगाडी मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद भएको हो । वडा नं ५ बस्ने ३० वर्षीय सुमन श्रेष्ठ र सोही ठाउँ बस्ने ३२ वर्षीय नवीन राईबीच मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद भई कुटपिट हुँदा श्रेष्ठको टाउकोमा चोट लागेको छ ।
घाइते श्रेष्ठको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने सुमन श्रेष्ठ र नवीन राईलगायत फरार रहेका २–३ जनाको खोजी गरिरहेको जनाइएको छ । प्रहरीले सोही स्थानमा उनीहरूले पार्किङ गरी राखेको को २३ प ७१५३ र प्रदेश १–०१–०१७ प २९६० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।