२० लाख २९ हजारसहित एक हुण्डी कारोबारी पक्राउ
२० लाखभन्दा बढी रकमसहित एक हुन्डी कारोबारी राजधानीमा पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.४ पलाती स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोलामा बस्ने २४ वर्षीय सञ्जय बस्नेतलाई २० लाख २९ हजार ६२० रुपैयाँसहित पक्राउ गरिएको प्रहरी वृत्त जनसेवा काठमाण्डौका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
बस्नेतको साथबाट १००० दरको १७७९ वटा ,५०० दरको ५०१ वटा , १०० दरको एउटा र २० दरको एउटा नोट बरामद भएको थियो । साथै आइफोन एक थान ,विभिन्न बैङ्कको हस्ताक्षर गरेको तथा खाली चेक ३० थान बरामद भएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।
योसँगै डीएसपी चन्दको सक्रियतामा करिब एक करोड रकमसहित पाँच जना पक्राउ परिसकेका छन् । गत बैशाख २३ गते हुन्डी कारोबार गर्ने दुई जना कारोबारी ४० लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।
४० लाख ३२ हजार ५०० रुपैयाँसहित कलकत्ता ६ डी नर्थ रोड यादवपुर भारत स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुजन दत्त र रुपन्देही देवदह नगरपालिका-४ स्थायी वतन भई हाल चन्द्रागिरि नगरपालिका वडा नं.१५ तिनथाना काठमाडौँ बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल पक्राउ परेका थिए ।
त्यस्तै गत चैत २० गते हुन्डी कारोबार गर्ने एक महिला करिब २१ लाखसहित पक्राउ परेकी थिइन् भने त्यसको दश दिनपछि चैत ३१ गते अर्की महिला पनि ९ लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् ।