२०८३ बैशाख ४ गते , शुक्रबार

काँकडभिट्टा नाकाबाट भन्सार नतिरी कसरी भित्रियो तीनवटा भारतीय कन्टेनर ? प्रहरी भन्छन्- राजश्व चुहावट, भन्सार भन्छन्- राजश्व तिरेको

sajilo news
झापा
२०८२ जेष्ठ ५ गते , सोमबार
काँकडभिट्टा नाकाबाट भन्सार नतिरी कसरी भित्रियो तीनवटा भारतीय कन्टेनर ? प्रहरी भन्छन्- राजश्व चुहावट, भन्सार भन्छन्- राजश्व तिरेको

काँकडभिट्टा ।  झापाको पूर्वी नाका काँकडभिट्टाबाट भन्सार नतिरी भित्रिएको तीन वटा भारतीय कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट काँकडभिट्टाहुँदै नेपाल आएको एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरहरूलाई प्रहरीले आइतबार साँझ ७ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका ५ बाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले गोप्य सूचनाको आधारमा लिएको कन्टेनरहरूमा ३ करोड ६१ लाख बराबरको धान काट्ने मेशिनका सामान रहेको जनाइएको छ । 

कन्टेनरहरूलाई चेकजाँच गर्दा भन्सार छली गरी ल्याउँदै गरेको अवैध सामानहरू कन्टेनरमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ३ करोड ६१ लाख बराबरको सामान कन्टेनरमा फेला परेकोले उक्त सामान तथा कन्टेनरहरूलाई बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए ।

तर, मेची भन्सार कार्यालयले ती सामान अवैध नभएको दाबी गरेको छ । भन्सार तिरेर नियमसंगत ढङ्गले ती कन्टेनर भित्रिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढुङ्गानाले बताए । उनले ती कन्टेनर भारतबाट नभई चीनबाट कृषि औजार लिएर आएको बताए ।‘राजश्व अनुसन्धान कार्यालयले सत्यतथ्य छानबिन गर्ने नै हो ’ उनले भने ,‘ प्रहरीले दुःख दिने र भन्सारलाई बदनाम गर्ने काम गरेको छ । ’ यसअघि पनि पटक पटक भन्सारले छोडेको सामान प्रहरीले नियन्त्रण लिएको थियो ।

सम्बन्धित समाचार