झापामा मोटरसाइकल चोरी घटनामा संलग्न चारजना पक्राउ
इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ गरेको छ । बिर्तामोड–३ सैनिक मोड बस्ने रञ्जित राजवंशी, प्रदीप राजवंशी, कुमार राजवंशी र बिर्तामोड–४ परोपकार टोलमा डेरा गरी बस्ने जागिर आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
राजवंशीत्रय एकाघरका दाजुभाइ हुन् । राजवंशीत्रय चोरीमा संलग्न रहेको र आलम ग्यारेज सञ्चालक रही चोरीको बाइक बिक्रीमा संलग्न रहेको प्रहरीले जनाएको छ । चोरीको तीन वटा बाइक र एउटा अटोसहित चोरीमा संलग्नहरूलाई पत्रकार सम्मेलन गरी सोमबार इलाका प्रहरी कार्यालय अनारमनीले सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट मे १ ह ४८९६ नम्बरको अटो, मे ८ प २११६ नम्बरको एभेन्जर बाइक, प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको सुपर स्प्लेन्डर बाइक र मे ९ प ३६१८ नम्बरको पल्सर बाइक बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।
सिसी टिभी फुटेजको आधारमा अनुसन्धान अगाडि बढाएको घटनामा अटोसहित २६ वर्षीय प्रदीप राजवंशीलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।
चोरीमा संलग्न एक जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई आइतबार चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।