चन्द्रगढी सामुदायिक वनको मिलबाट बरामद काठ छुटाउने चलखेल ! तीन जना संयोजकले दिए पदबाट राजीनामा
भद्रपुर । भद्रपुर-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको मिलमा बरामद भएको काठ छुटाउने चलखेल सुरु भएको छ । जेठ ३ गते डिभिजन वन कार्यालय भद्रपुरले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको स–मिलवाट करिब ८३ क्यू फिट साखु जातका चिरान काठ अवैध भनी बरामद गरेको थियो । सोही काठलाई वैधता दिने र छुटाउने चलखेल सुरु भएको हो ।
त्यसप्रति नेकपा एमाले भद्रपुर–९, वडा कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नियन्त्रणमा लिइएको काठ वैध हुन् या अवैध हुन् सोको निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन वडा कमिटीले माग गरेको छ । वडा कमिटी अध्यक्ष ध्रुवराज कार्की र सचिव महेश न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गरी उक्त काठ अवैध भए सो कार्य गराउने व्यक्ति वा समूहलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । यदि कुनै प्रतिशोध दुरासायी भावना वा मोलमोलाहिजामा परि निर्दोषमाथि कारबाही गरिएमा वा दोषीलाई उन्मुक्ति दिने प्रयास गरेमा, सो कार्यको प्रतिकारमा उत्रने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले डिभिजन वन कार्यालयले दिएको अनुमतिका आधारमा मात्र चिरान ,कटान तथा उपभोक्तालाई काठ विक्री वितरण गर्ने गरेको दाबी गरेका छन् ।
त्यसबारे अनुसन्धान चलिरहेको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । कार्यालयले घटनाको अनुसन्धान गर्न एक जना अनुसन्धान अधिकारी तोकेको छ । अनुसन्धान सकिएपछि सो काठ वैध वा अवैध के हो भनेर स्पष्ट हुने श्रेष्ठले जानकारी दिए । यता समूहका संयोजकहरूले पनि पदबाट धमाधम पदबाट राजीनामा दिन थालेका छन् । काठ बरामद गरेको घटनापछि हालसम्म तीनजना क्षेत्रीय संयोजकले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा क्षेत्र नम्बर २ का रमेश न्यौपाने, ६ का युवराज दाहाल र ९ का केशवप्रसाद खतिवडा रहेका छन् । उनीहरूले वन समितिका अध्यक्षलाई सम्बोधन गर्दै व्यवहारिक कारण देखाएर आजका मितिदेखि पदमा बसेर काम गर्न कठिनाइ भएको भन्दै स्वीकृतिका लागि लिखित रुपमा छुट्टाछुट्टै राजीनामा पत्र बुझाएका छन् ।