हनी ट्र्यापमा पारेर सरकारी कर्मचारीसँग 'घर र जग्गा'को बार्गेनिङ दुई महिला पक्राउ
सरकारी कर्मचारीलाई 'हनी ट्र्याप'मा पारेर ठगी गर्न खोज्ने दुई जना महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौं बस्ने ३४ वर्षीय ममता तामाङ र भक्तपुर घर भई काठमाडौं बस्ने ३४ वर्षीय आँचल श्रेष्ठ रहेका छन्।
उनीहरूले ती सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान बढाएको प्रहरीले जानकारी दिएको छ। फेसबुकमा जोडिएपछि रेस्टुरेन्टमा कफी खान बोलाई सम्बन्ध बढाएको प्रहरीको भनाइ छ। त्यसै क्रममा एक दिन खाना खाने बहानामा ती कर्मचारीलाई रेस्टुरेन्टमा बोलाएर, मदिरा सेवन गराई अचेत हुने अवस्थामा पुर्याएर अश्लील फोटो भिडियो बनाएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए।
त्यही फोटो र भिडियोमार्फत ती महिलाहरूले सरकारी कर्मचारीसँग जग्गा र घरको बार्गेनिङ गरेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ। उनीहरूले घर वा जग्गा नदिए। बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै आएका थिए। उनीहरूले दुई जनाको पुरुषको माध्यमबाट पैसाको पनि बार्गेनिङ गरेको प्रहरीको भनाइ छ। उनीहरूको साथबाट दुई वटा मोबाइल र ५ लाखको चेक बरामद गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए।