झापाका एसपी लिम्बूले भने- सुरक्षाको प्रत्याभूति दिन्छौ
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूले जिल्लावासीलाई सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रहरी चौकी बिर्ताबजारले आज आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लिम्बूले शान्ति सुरक्षा कायम गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन् ।
झापा जिल्लाको लागि सबैभन्दा ठूलौ चुनौती लागूऔषध बनेको भन्दै उनले प्रहरी एक्लैले सो समस्या समाधान गर्न नसक्ने भएकाले सबैलाई साथ दिन आव्हान गरे ।
प्रहरी चौकी व्यवस्थापन समितिको आयोजनामा अध्यक्ष बिरेन कोइरालाको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीले जनप्रतिनिधि र प्रहरी भनेको एक अर्काका परिपूरक भएकाले दुवै मिलेर समाजमा हुने अपराधजन्य घटना कम गर्न र शान्ति सुरक्षा मजबुत बनाउन सहकार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लिम्बू, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ , नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराई , नेकपा माओवादी केन्द्रका कुवेर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।