२०८३ बैशाख १० गते , विहीबार

मेचीनगरको कालिका सिमसारमा लागूऔषधको खरिद बिक्री, ४३ जना पक्राउ

sajilo news
झापा
२०८२ जेष्ठ १४ गते , बुधबार
मेचीनगरको कालिका सिमसारमा लागूऔषधको खरिद बिक्री, ४३ जना पक्राउ

झापामा लागू औषधको कारोबार यति धेरै भयावह बनेको छ कि मेचीनगरको कालिका सिमसारमा लागू औषध खरिद बिक्री गर्नेहरूको हिजो मेला नै लाग्यो । लागू औषधको कारोबार गर्नेहरूको भीड लागेपछि प्रहरीले ४३ जनालाई पक्राउ गरेको छ ।

हिजो साँझ अन्दाजी ६ बजे मेचीनगर नगरपालिका- ११ कालिका सामुदायिक वनमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी , प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहान र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमान्डमा खटिएको स्वीप अपरेसन टोलीले विभिन्न स्थान बस्ने ४३ जना लागू औषध सेवनकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरू सबै पुरुष हुन् । उनीहरू अन्दाजी १५ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । लागू औषध कारोबारीहरू लागू औषध बेच्न आएपछि उनीहरू किन्न भेला भएका थिए । पक्राउ पर्नेहरू लागू औषध सेवनकर्ताहरू हुन् । कारोबारीहरू भाग्न सफल भएको बताइएको छ ।

पक्राउ परेका ४३ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । उनीहरूको साथबाट लागू औषध बरामद भएको छ । त्यसको परिमाण खुलेको छैन । त्यस्तै १४ वटा मोटरसाइकल , एउटा अटो र एउटा मारुती भ्यान बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार