२०८३ बैशाख ४ गते , शुक्रबार

सिक्किममा पहिरो : ३ सैनिकको मृत्यु, ६ जना बेपत्ता

sajilo news
झापा
२०८२ जेष्ठ १९ गते , सोमबार
सिक्किममा पहिरो : ३ सैनिकको मृत्यु, ६ जना बेपत्ता

भारतको सिक्किममा पहिरो जाँदा कम्तीमा तीनजना सेनाका जवानको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन्। बीबीसी हिन्दीका अनुसार यो घटना मंगन जिल्ला (उत्तरी सिक्किम) को चातेन क्षेत्रमा भएको हो। त्यहाँको एक सैनिक शिविरमा पहिरो खसेको हो। जसमा परी ४ सैनिक घाइते पनि भएका छन्। बेपत्ता सैनिकको खोजी जारी छ।

मंगन जिल्लाको चुङथाङका उपविभागीय प्रहरी अधिकारी अरुण थटलले पत्रकारहरूलाई भने, ‘लाचेन नदीको बढ्दो पानीको सतहका कारण सेनाको क्याम्प पहिरोमा परेको छ। तीन सैनिकको शव निकालिएको छ। बेपत्ता सैनिकहरूको खोजी जारी छ।’

चाटेन लाचेनबाट लगभग तीन किलोमिटर टाढा छ। त्यहाँ बारम्बार पहिरो जान्छ। यस क्षेत्रमा धेरैवटा सैनिक क्याम्प छन्। आइतबार राति सिक्किमस्थित सैनिक क्याम्पमा खसेको पहिरो। पहिरोमा परी सेनाका हवलदार लखविन्दर सिंह, लान्स नायक मुनिष ठाकुर र भरिया अभिषेक लख्दाको मृत्यु भएको हो। 

भारी वर्षा र पहिरोका कारण उत्तरी सिक्किमको मंगन क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ। यसैबीच मे ३१ देखि यस क्षेत्रमा फसेका लगभग १५०० पर्यटकलाई सोमबार सुरक्षित रूपमा बाहिर निकालिएको छ। मंगन जिल्लाका मजिस्ट्रेट अनन्त जैनका अनुसार, अझै १५० पर्यटक लाचेनमा फसेका छन्। तर उनीहरू होटलहरूमा सुरक्षित छन्।

सम्बन्धित समाचार