२०८३ बैशाख १० गते , विहीबार

झापामा कोठाभाडा लिएर नक्कली नोट छाप्थे तेह्रथुमका भारती !

sajilo news
झापा
२०८२ जेष्ठ २३ गते , शुक्रबार
झापामा कोठाभाडा लिएर नक्कली नोट छाप्थे तेह्रथुमका भारती !

काँकडभिट्टाबाट नक्कली नोटसहित पक्राउ परेका तेह्रथुम ओयाक्जुङ –५ का २८ वर्षीय गणेश भारतीले झापामा कोठा भाडा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले थप अनुसन्धानबाट फेला पारेको छ ।

गत जेठ १८ गते काँकडभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले भारतीलाई नक्कली एक लाख रुपैयाँसहित पक्राउ गरेको थियो । झापाको कनकाई नगरपालिका– ८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएको भारतीको साथबाट १ हजारका १ सय थान नक्कली नोट बरामद गरेको थियो । सो घटनामा झापा प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने क्रममा उनले नक्कली नोट आफैले छपाई गरी चलन गरेको खुलेको छ । प्रहरी निरीक्षक राज कुमार कार्की समेतको अनुसन्धान टोलीले लक्ष्मीपुरस्थित कोठामा तलासी गर्दा थप नक्कली नोटहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा) ५ लाख ३० हजार ६ सय ८० रुपैयाँ सहित नोट छाप्ने गरेको मेसिन थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङ्ग लगायतका प्रमाणहरू बरामद गरिएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १ हजार दरका नक्कली (खोटा मुद्रा) ४७० थान, ५ सय दरका २८२ थान, १ सय दरका १९० थान, ५० दरका १२ थान र २० दरका ४ थान बरामद गरिएको छ ।

१ थान प्रिन्टिङ मेसिन, ३ थान मोबाइल, १ थान कैँची, नोट बनाउन प्रयोग भएको कागज कपी २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार