भद्रपुरमा संघीय सरकारको ४२ करोड भन्दा बढी बजेट, कुन योजनामा कति रकम आयो ?
सङ्घीय सरकारले झापाको सदरमुकाम भद्रपुरको विभिन्न योजनाका लागि करोडौँ रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सङ्घीय सरकारले नगरपालिकाभित्र २१ वटा योजनाका लागि करिब रू ४२ करोड बढी बजेट विनियोजन गरेको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले जानकारी दिए । योजनामध्ये जीपी भवन, मेची रङ्गशाला, किचकबध, झापा कारागार, चन्द्रगढ धार्मिक स्थल लगागत रहेका छन् । साथै भद्रपुर विमानस्थलका लागि पनि ठुलै बजेट छुट्टिएको जनाइएको छ ।
यी योजनामा परे बजेट
भद्रपुर–६ स्थित राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको सङ्ग्रहालय भवनका लागि रू तीन करोड, भद्रपुर–८ स्थित मेची रङ्गशालाका लागि रू तीन करोड, भद्रपुर–८ स्थित गिरिजाप्रसाद कोइराला स्मृति सभा गृहका लागि रू तीन करोड, भद्रपुर–५ र ६ सिटी गार्डेन–बहलमानपट्टि हुँदै झिम्की चोकसम्म सडक निर्माणार्थ रू तीन करोड, भद्रपुर–८ स्थित पृथ्वी नमुना विद्यालयको सभाकक्ष निर्माण गर्न रू तीन करोड बजेट विनियोजन गरेको छ ।
त्यस्तै, भद्रपुर–८ स्थित कृष्ण प्रणामी मन्दिरदेखि देवलाल राजवंशीको घरसम्मको सडक स्तरोन्नतिका लागि रू तीन करोड, भद्रपुर–८ भद्रशिवा टोलको तामाङको घरदेखि भद्रशिवा मन्दिरसम्म जोड्ने ढल निकाससहित मर्मत र स्तरोन्नति गर्न रू तीन करोड, भद्रपुर–९ स्थित माथेमामार्ग अन्तरगत लक्ष्मी चोक–मेथीबारी हुँदै पुष्पलाल मार्ग जोने सडक कालोपत्रे गर्नू तीन करोड, भद्रपुर नगरपालिका–१० गौरीशङ्कर मार्ग निर्माणार्थ रू तीन करोड बजेट आउने भएको छ ।
यस्तै, भद्रपुर–२ र ३ स्थित किचकबध धार्मिक तथा ऐतिहासिक स्थल संरक्षण तथा पर्यटन पूर्वाधार निर्माणार्थ रू तीन करोड, भद्रपुर–१० स्थित चन्द्रगढ ऐतिहासिक पर्यटन क्षेत्र विकास योजनाका लागि रू तीन करोड, भद्रपुर–७ स्थित शंकटेश्वर सामुदायिक भवन निर्माण गर्न रू २५ लाख, भद्रपुर–१ स्थित पूर्वेली टोलबाट हिमाली स्कुल जाने ड्रेनसहितको सडकका लागि रू तीन करोड प्राप्त भएको छ ।
त्यसैगरी, झापा जिल्ला कारागारको ढल व्यवस्थापनका रू तीन करोड, भद्रपुर–७ स्थित जानकी मार्ग (विषम मिल दक्षिण केदार पोखरलेको घर हुँदै अन्जनी मोड जोड्ने सडक) का लागि रू ४० लाख, भद्रपुर–३ स्थित कालीबहादुर दक्षिण सञ्जु खेत हुँदै देउनियाँ खोला जाने सडकका लागि रू २५ लाख, भद्रपुर–९ र १० जोड्ने सडक स्तरोन्नतिका लागि रू ४० लाख बजेट प्राप्त हुने भएको छ ।
यसैगरी, भद्रपुर–१० स्थित फूलबारी–ताक्मारे सडक स्तरोन्नतिका लागि रू २५ लाख, भद्रपुर–१० स्थित बद्री मार्ग–अद्वैत मार्ग सडक स्तरोन्नतिका लागि रू २५ लाख, सेती खोलामा बक्स कल्भर्ट निर्माणार्थ रू २५ लाख र जिल्ला समन्वय समितिको एनेक्स भवन निर्माणार्थ रू ९० लाख प्राप्त भएको छ ।