बिर्तामोड चोरी घटनामा संलग्न थप ३ जना पक्राउ
बिर्तामोडमा चोरीका घटना बढेसँगै प्रहरीले चोरीमा संलग्नहरूलाई धमाधम पक्राउ गर्न थालेको छ । यसक्रममा फेरि ३ जना पक्राउ परेका हुन् । गत फागुन २२ गते बिहान अन्दाजी ११ः३० बजे अर्जुनधारा वडा नं. ६ दालपुलस्थित इन्दिरा रिजाल सङ्ग्रौलाको घरबाट चोरी गर्नेहरू पक्राउ परेका हुन् । सङ्ग्रौलाको घरबाट १० तोला बराबरको सुनको बाला, तिलहरी, सिक्री, मङ्गलसूत्र, नौगेडी, झुम्का, हिराको औँठी,६ तोला बराबरको चाँदीको पाउजु लगायतका गरगहना चोरी भएको थियो ।
लक्ष्मी सङ्ग्रौलाकी बुहारी इन्दिरा रिजाल सङ्ग्रौला घरको ढोका तथा गेट खुल्ला राखी बच्चालाई स्कुल बस चढाउनको लागि गएकी थिइन् । उनी बच्चालाई स्कुल बस चढाई घर फर्किदा घरको माथिल्लो तलामा रहेको दराजको घर्रा भित्रबाट सुनको विभिन्न गर–गहना गरी १५ लाख बराबरको धनमाल चोरी भएको थियो ।
सो घटनामा संलग्नहरूलाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड वडा नं. २ चारपाने बस्ने २८ वर्षीय सुरज राई ,चोरीको गर–गहना खरिद गर्ने बिर्तामोड वडा नं. १ नारायण चोक बस्ने ४९ वर्षीय अरविन्दकुमार विश्वकर्मा (कालिगढको रुपमा कार्यरत) र शेरावाली ज्वेलर्स बिर्तामोडका संचालकका छोरा सुभान्सु साह रहेका छन् ।
राईले चोरी गरेको गरगहना विश्वकर्मालाई बिक्री गरेका थिए भने विश्वकर्माले साहलाई बिक्री गरेका थिए । चोरी गरेको ६.९९५ तोला सुन गालेर ढिक्का बनाईराखेको अबस्थामा बिर्तामोड वडा नं. ५ हिकोला रोडस्थित शेरावाली ज्वेलर्सबाट बरामद भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
उनीहरुलाई झापा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए । यसअघि जेठ २२ गते बिर्तामोडमा चोरीमा संलग्न तीनजना पक्राउ परेका थिए ।