अढाई केजी सुन तस्करीमा संलग्न बिर्तामोडका विश्वकर्मा फेरि पक्राउ
करिब चार वर्षअघि अढाई केजी सुनसहित पक्राउ परेर धरौटीमा रिहा भएका बिर्तामोड नगरपालिका– ८ गरामनी बस्ने ३० वर्षीय अमिर ल्वागुन विश्वकर्मा पुनः पक्राउ परेका छन् ।
काठमाडौं मैतीदेवी निवासी बुद्ध शंकरको पसलमा सुनचाँदीको काम गर्दै आएका विश्वकर्मा नेपालगन्ज विमानस्थलबाट अढाई केजी सुनसहित पक्राउ परेका थिए । उनीसहित मोरङका बुद्धिमान खाती पनि पक्राउ परेका थिए । उनीहरू २५–२५ लाख रुपैयाँ तिरेर धरौटीमा रिहा भएका थिए ।
विदेशी विनिमय दर छलकपट गरेको आरोपमा राजस्व चुहावट सम्बन्धी मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले विश्वकर्मालाई १ वर्ष २ महिना १५ दिन कैद, नगद रु. २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले हिजो साँझ ७.३० बजे घरबाटै पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत झापामा उपस्थित गराई अदालतको आदेशले आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
उच्च अदालत पाटनले सुन काण्डमा संलग्न खातीलाई पनि १ वर्ष २ महिना १५ दिन कैद, नगद रु. २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना तोकेको छ । सुन तस्करी गराउन लगाउने बुद्ध शंकरलाई ३ वर्ष कैद र २४ करोड रुपैयाँ जरिवाना तोकेको जनाइएको छ ।