हनिमुनमा गएका राजा रघुवंशीको हत्याका मुख्य योजनाकार आफ्नै पत्नी !
दिल्ली । मेघालयको शिलङ अदालतले इन्दौर निवासी राजा रघुवंशी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा उनकी पत्नी सोनम रघुवंशीसहित पाँच जनालाई अनुसन्धानका लागि हिरासत पठाएको छ । पूर्वी खासी हिल्सका प्रहरी प्रमुख विवेक स्येंमका अनुसार प्रहरीले १० दिनको म्याद माग गरे पनि अदालतले ८ दिनमात्र स्वीकृत गरेको हो।
राजा रघुवंशी र सोनम मेघालय हनीमून गएको थियो। २३ मेदेखि दुवै बेपत्ता भएपछि खोजी भइरहेको थियो। २ जुनमा पूर्वी खासी हिल्सस्थित वेइसाडोंग झरनाको छेउमा १५० फिट तल खसेको अवस्थामा राजाको शव फेला परेको थियो। त्यसको केही दिनपछि सोनम उत्तर प्रदेशको गाजीपुरमा भेटिएकी थिइन् ।
प्रहरीका अनुसार, हत्या योजनाबद्ध ढंगले गरिएको आशंका गरिएको छ र सोनमले अन्य तीन व्यक्तिको सहयोगमा यो अपराध घटाएकी हुनसक्ने बताइएको छ। घटनास्थल नजिकै एक धारिलो हतियार (दाओ) पनि बरामद गरिएको छ।
राजाकी आमाले न्यायको माग गर्दै दोषीहरूलाई कडा सजाय हुनुपर्ने बताइन्। अर्कोतर्फ सोनमका परिवारले उनी निर्दोष भएको दाबी गरेको छ । हाल प्रहरीले पाँचै जना अभियुक्तको विस्तृत रुपमा बयान लिने र घटनाको सबै पक्ष पत्ता लगाउने प्रयास गरिरहेको छ।