एयर इन्डियाको जहाज दुर्घटना : बाँच्न सफल रमेश भन्छन्-‘ब्युँझिँदा वरिपरि लाशहरू मात्रै थिए’
भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको जहाज दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन्। उनको असारवास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।
विमान दुर्घटना भएपछि सवार यात्रुका आफन्तहरू अस्पताल पुगेका थिए। त्यसैक्रममा ४० वर्षीय रमेश कुमार विश्वासले आफू दुर्घटनाबाट जोगिएको बताएपछि धेरै जना चकित परेका थिए। उनलाई छाती, आँखा र खुट्टामा चोट लागेको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
बेलायती नागरिक रमेशले आफन्तलाई भेट्न भारत आएको बताए। भारत बसाइका क्रममा दाजु अजयसँग विभिन्न स्थानमा घुमघाम पनि गरेको उनको भनाइ छ। एयर इन्डियाको जहाजबाट दाजुसँगै उनी सवार रहेका थिए। आफू बाँच्न सफल भए पनि दाजु अहिलेसम्म फेला नपरेको उनले गुनासो गरे।
रमेशले विमान उडेको ३० सेकेन्डमै पड्किएको जस्तो आवाज आएको बताए। 'विमान उडेको झण्डै ३० सेकेन्डपछि ठूलो आवाज आयो र त्यसपछि दुर्घटना भयो,' उनले भनेका छन्। सबै कुरा यति छिटो भयो केही सोच्नै नसकेको उनको भनाइ छ।
दुर्घटनापछि आफू होसमा आउँदा वरिपरि लाशहरू देखेको उनले बताए। 'जब म होसमा आएँ, मेरो वरिपरि लाशहरू थिए। म डराएँ। उठेर दौडिएँ। चारैतिर विमानका टुक्रा-टुक्रा फैलिएका थिए। कसैले मलाई समाते र एम्बुलेन्समा हालेर अस्पताल ल्याए,' उनले भने।
रमेश विगत २० वर्षदेखि लन्डनमा बस्दै आएका छन्। उनकी पत्नी र बच्चााहरू पनि लन्डनमै बस्छन्। उनले आफ्ना दाजु अयजलाई खोजिदिन अपील पनि गरे। दाजु र आफू फरक फरक ठाउँमा बसेको उनको भनाइ छ।
बिहीबार १:३९ बजे अहमदाबादबाट लन्डन उडेको एयर इन्डियाको ७८७ विमान केही क्षणमै दुर्घटनामा परेको थियो। उक्त विमान डाक्टरहरू बस्ने होस्टलमा खसेको थियो। विमानमा क्रुसहित २४२ जना सवार थिए। जसमध्ये १६९ जना भारतीय नागरिक र ६१ जना विदेशी नागरिक थिए। विदेशीमध्ये पनि ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानाडाका नागरिक थिए।