२०८३ बैशाख १० गते , विहीबार
वैदेशिक रोजगारीमा ठगी धन्दा : भद्रपुरका सुवेदीसहित दुईजना पक्राउ
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ– ११ बस्ने ३५ वर्षीया दिपा शर्मा र झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २७ को व्रिजेश सुवेदी रहेका छन्।
दिपा शर्माले क्यानडा पठाउने भन्दै पीडितसँग २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। यस्तै, व्रिजेशले युके पठाइदिने भनी २ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको छ।
रकम लिएर लामो समयसम्म झुक्कयाईमा राखी विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।