झापामा एक तेस्रो लिङ्गीसहित ५१ जना फरार अभियुक्त पक्राउ
झापामा एक महिनामा ५१ जना फरार अभियुक्त पक्राउ परेका छन् । जेठ महिनामा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी युनिटबाट खटिएका प्रहरी टोलीले त्यति धेरै सङ्ख्यामा फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।
पक्राउ पर्नेमा उच्च अदालत विराटनगर इलाम इजलासको २०७२ असार १६ गतेको फैसलाले जबरजस्ती करणी र चोरी मुद्दामा १० वर्ष कैद फैसला भई फरार रहेका मेचीनगर नगरपालिका-७ बस्ने ३२ वर्षीय प्रदीप राई र उच्च अदालत पाटनको २०८० फागुन २९ गतेको फैसलाले राजश्व चुहावट मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद र २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना फैसला भई फरार रहेका बिर्तामोड नगरपालिका-८ बस्ने ३० वर्षीय अमिर ल्वागुन विश्वकर्मासमेत छन् ।
विभिन्न मुद्दामा दोषी प्रमाणित भएर फरार रहेका ४३ जना पुरुष, ७ जना महिला र एकजना तेस्रो लिङ्गीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका अभियुक्तहरूलाई कैद भुक्तानको लागि कारागार पठाइएको डीएसपी खड्काले जानकारी दिए । उनका अनुसार जरिवाना असुल गर्न मात्र बाँकी रहेका अभियुक्तहरू जरिवाना दाखिला गराई लगत कट्टा गरी छुटेका छन् ।
सो बाट कैद–३१ वर्ष ५ महिना २६ दिन तथा .२ करोड ९९ लाख ७८ हजार ५६० रुपैयाँ जरिवाना असुल भएको जनाइएको छ । फरार अभियुक्त पक्राउ अभियान जारी रहेकोमा त्यसलाई अझ तीव्रता दिइएको डीएसपी खड्काले जानकारी दिए ।