२०८३ बैशाख ४ गते , शुक्रबार

अनलाइन जुवाबारे बलिउड कलाकार र क्रिकेटरसँग सोधपुछ

sajilo news
एजेन्सी
२०८२ असार ४ गते , बुधबार
अनलाइन जुवाबारे बलिउड कलाकार र क्रिकेटरसँग सोधपुछ

मुम्बई । बलिउड तथा दक्षिण भारती अभिनेता सोनु सूद र अभिनेत्री उर्वशी रौतेलालाई सम्पत्ति सम्बन्धी छानबिन गर्ने संस्था इकोनोमिक इन्टेलिजेन्स अर्गनाईजेसन (इडी)ले अवैध ‘अनलाइन बेटिंग प्लेटफर्म’ बेटिंग एप्सको बारेमा सोधपुछ गरेको छ ।

बलिउडका यी दुई कलाकारसहित पूर्व भारतीय क्रिकेटर हर भजन सिंह, युवराज सिंह, सुरेश रैना लगायतलाई पनि सोधपुछ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा प्रतिबन्धित यो अनलाइन जुवा खेल कम्पनीसँग महंगो पारिश्रमिक लिएर यसको विज्ञापन गरेको आरोप उनीहरूमाथि लागेको छ ।

इडीका अधिकारीका अनुसार अनलाइन जुवा खेलाउने एपहरूमा एक्सबेट, फेयर प्ले, परिम्याच, लोटस ३६५ लगायतलाई भारतमा प्रतिबन्धित गरिएको छ । यो जानकारी हुँदा हुँदै पनि अभिनेता सोनु सूद र अभिनेत्री उर्वशी रौतेलाले अनलाइन जुवा खेलाउने एप एक्सबेटको विज्ञापनमा काम गर्दै यसको प्रचार प्रसारलाई प्रसय दिएको आरोप इडीका अधिकारीहरूले लगाएका छन् ।

यी अनलाइन जुवा कम्पनीसँग जोडिएर विज्ञापन गरे बापत ५० करोड रुपैयाँभन्दा बढीको भुक्तानी लिएका बलिउड सेलिब्रेटी, क्रिकेटर र केही भारतीय अनलाइन मिडिया संस्थालाई इडीका अधिकारीहरूले ट्रयाकिङ गरेको बताएका छन् । बाँकी अरुलाई पनि क्रमशः सोधपुछ र कारवाही गर्दै जाने ती पदाधिकारीहरूले मंगलबार भारतीय मिडियालाई बताएका छन् ।

यस विषयमा सोनु सूद, उर्वशी रौतेलाले आफूलाई जुवाको प्रचार प्रसार एवम् प्रवर्धनमा सोधपुछ गरिएको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । अभिनेत्री उर्वशीले मंगलबार भारतीय सञ्चालन माध्यमलाई यो विषयमा कुनै पनि प्रतिक्रिया दिन चाहिनन् । यस्तै सोनुले पनि प्रतिक्रिया दिएका छैनन् ।

ईडीका अधिकारीहरूले धेरै पटक यस्तो अनलाइन जुवालाई प्रवर्धन नगर्न भारतीय चलचित्र तथा खेलकुदका सेलिब्रेटीहरुलाई सूचना मार्फत अनुरोध गरेको थियो । तर आर्थिक लाभमा परेर कलाकार तथा क्रिकेटरहरूले यो गैर कानुनी कार्य गरेको इडीका अधिकारीहरूले बताएका छन् । त्यसैले उनीहरूलाई कानून अनुसार कारबाही हुने पनि ती अधिकारीहरूको भनाई छ ।

यस विषयमा क्रिकेटर युवराज सिंहले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । क्रिकेटर हर भजन सिंह र सुरेश रैनाका सामाजिक सञ्जाल प्रवक्ताहरूले समेत यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

सम्बन्धित समाचार