पेस्तोल र खुकुरीसहित काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका भारतीय नागरिक पक्राउ
आक्रमण गर्ने उद्देश्यले विभिन्न हतियारसहित नेपाल प्रवेश गरेका एक भारतीयलाई प्रहरीले काँकडभिट्टाबाट पक्राउ गरेको छ । आज साँझ ७.२० बजे भारत दुर्गानगर सिलिगुडी बस्ने ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई एयर पेस्तोल, म्यागेजिन र खुकुरीसहित काँकडभिट्टा बसपार्कमा पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतीय नागरिक पाठकलाई डब्लुबी ७० जी ३२३२ नम्बरको TUV३०० मोडलको कारसहित फेला पारेको थियो ।
गाडीसहित नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडीको चालक बस्ने सिटमुनि लुकाई राखेको अवस्थामा STAR RX ( IN XAMPL CO२ ००१९०७ ४.५ MM) MADE IN INDIA लेखिएको कालो रंगको म्यागेजिनसहितको एयर पेस्तोल फेला परेको थियो । चालु अवस्थामा रहेको म्यागेजिन खोली हेर्दा एयर बुलेट जस्तो देखिने ५ राउन्ड , चालक बस्ने सिटदेखि बायाँतर्फको सिटमुनि दुवै साइडमा १–१ थान दावसहितको २ थान खुकुरी पनि फेला परेको थियो ।
त्यस्तै पाठकको शरीरबाट रेडमी कम्पनीको स्क्रिन टच मोबाइल १ थान, सामसुङ कम्पनीको मोबाइल १ थान, उनको परिचय खुल्ने कागजात र गाडीको कागजपत्र फेला परेको छ ।
ती भारतीय नागरिक कसैलाई आक्रमण गर्न आएको हुनसक्ने आशङ्का गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बताए । अवैध हतियारसहित पाठकलाई नियन्त्रणमा लिई इप्रका काँकडभिट्टामा राखिएको छ ।