चोरी घटनामा संलग्न झापाका एकसहित तीन पक्राउ
झापा, उदयपुर र मोरङबाट चोरी घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ का २९ वर्षीय कबिन भन्ने निरोज लामा, झापाको कनकाई नगरपालिका-३ का २६ वर्षीय विनोद बर्देवा र मोरङको धनपालथान-४ का १९ वर्षीय जोसेफ हेमरम रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
२०८१ साल मंसिर ३ गते उदयपुरको चौदण्डीगढी-३ का पदम राईको घरबाट ४ तोला सुनको गर-गहाना चोरी भएको घटनामा अनुसन्धान तथा खोजतलासको क्रममा कबिन भन्ने निरोज लामालाई गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारले असार ७ गते पक्राउ गरेको हो ।
त्यसैगरी २०८२ साल असार ८ गते झापाको कनकाई नगरपालिका-३ का रबिन विश्वकर्माको घरमा डेरा गरी बस्ने बर्देवाले घरमा कोही नभएको अवस्थामा टिभी, फ्रिज लगायत घरायसी सामान चोरी गरी फरार भएकोमा इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको हो ।
त्यसै गरी असार ८ गते मोरङको जहदा गाउँपालिका-४ स्थितमा पार्किङ गरी राखेको प्रदेश १-०२-०४३ प.८५७१ नम्बरको मोटरसाइकल चोरीमा संलग्न हेमरमलाई इलाका प्रहरी कार्यालय पोखरीयाले पक्राउ गरेको हो । चोरीको सामान सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।