कचनकवल गाउँपालिकाको बजेट ६६ करोड १९ लाख
कचनकवल । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६६ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आज आयोजित गाउँसभाको १६ औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले आ.व. ०८२/०८३ का लागि ६६ करोड १९ लाख ७९ हजार ५३० रुपैयाँको बजेट प्रस्तुत गरे ।
बजेटमा आन्तरिक स्रोततर्फ १० करोड एक लाख पाँच हजार ९७७, राजश्व बाँडफाँडतर्फ संघबाट १० करोड ९४ लाख ५९ हजार ५५३ र कोशी प्रदेशबाट ७३ लाख चार हजार, वित्तीय समानीकरण अनुदानतर्फ संघबाट १२ करोड ७६ लाख र प्रदेशबाट एक करोड १८ लाख ९७ हजार, सशर्त अनुदानतर्फ संघबाट २७ करोड ३४ लाख र प्रदेशबाट ९७ लाख १३ हजार एवम् विशेष तथा समपूरक अनुदानतर्फ संघबाट एक करोड ५० लाख र प्रदेशबाट ७५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको अध्यक्षतामा सञ्चालित सभामा उपप्रमुख भट्टराईले विनियोजित बजेटबाट चालुतर्फ ४२ करोड २८ लाख ७६ हजार ५०१ र पुँजीगततर्फ २३ करोड ९१ लाख तीन हजार २९ रुपैयाँ खर्च हुने गरी तर्जुमा गरिएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलको उपस्थितिमा सञ्चालित सभामा अध्यक्ष राजवंशीले कचनकवल गाउँपालिकाको समृद्धिको योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।