शिवसताक्षी नगरपालिकाको बजेट ९१ करोड ४२ लाख
झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ लागि ९१ करोड ४२ लाख बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज भएको १६ औं नगर सभाबाट नगर उपप्रमुख नरमाया कार्की ९१ करोड, ४२ लाख बराबरको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
जसमध्ये सशर्त कार्यक्रमका लागि रु ४८ करोड, ३२ लाख, २७ हजार, नगर योजना, विषयगत शाखा तथा वडागत योजनाका लागि रु २७ करोड, र चालु खर्चका लागि १७ करोड १० हजार बराबर रकम रहेको छ । सामाजिक सुरक्षा तथा संरक्षण भत्ताका लागि छुट्टै रु ४० करोड रकम विनियोजन गरेको उपप्रमुख कार्कीले बताइन । नगरपालिकाले आगामी आर्थिक वर्षमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरणमा जोड दिएको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटनमा लगानी अभिवृद्धि गरी दिगो र समावेशी आर्थिक सामाजिक विकासका लागि काम गर्ने बजेटमा उल्लेख छ । नगर सभामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरमा सञ्चालित नगर गौरवका आयोजनाहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन भएको बताए ।