भद्रपुरबाट फेरि दुई जना ब्राउनसुगरसहित पक्राउ
भद्रपुरमा ठुलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित चार जना कारोबारी पक्राउ परेकै दिन फेरि दुई जना पक्राउ परेका छन् । बुधबार दिउँसो ३ ३० बजे भद्रपुर नगरपालिका ५ पोखरी टोलमा वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री सुनसरी रामधुनी ८ बस्ने १८ वर्षीय लक्ष्मण सार्की र बराहक्षेत्र७ बस्ने १८ वर्षकै आनन्द मगरलाई शङ्का लागेर चेकजाँच गरेको थियो ।
त्यस क्रममा प्लास्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकसहित ६ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरी कार्यालय झापा पठाइएको छ । बुधवार दिउँसो १२ बजेको समयमा भद्रपुर नगरपालिका-७ स्थित आनी होटेल रोड अगाडिबाट एउटा कारसहित चारजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए। पक्राउ पर्नेहरू जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका-१३ का ३१ वर्षीय साजन तामाङ, सोही ठाउँका ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दीपेश लामा र बेलकोटगढी-११ का २३ वर्षीय राम तामाङ रहेका छन्।
उनीहरूलाई बुधवारै प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालको कमान्डमा खटिएको टोलीले भारतबाट ब्राउन सुगर खरिद गरी काठमाडौंतिर फर्किँदै गरेको बा.प्र.०१-३-च ०८७७ नम्बरको हुन्डाई कम्पनीको क्रेटा कार चढी गइरहेको अवस्थामा उनीहरूलाई रोकेर चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा गाडीभित्र रहेको झोलाबाट २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर (लिसाइलो पदार्थ) फेला परेको थियो।